कोशीमा बाढी: ३ सय वढी घर डुबानमा

सप्तरी- सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२ हटिया नजिकको बस्तीमा सोमबार राति ३ सय घर सप्तकोशीको बाढीले डुबानमा परेका छन् ।

कोशी बाँध भन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्तीका ३ सय भन्दा बढी घर डुबानमा परेका हुन् ।

बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र अगाडि रहेको लिलजा ठाकुर प्राथमिक विद्यालय समेत डुबानमा परेको छ । साँझ अचानक बाढी आउँदा बस्तीका अधिकांश परिवारको विचल्ली भएको छ ।

सप्तकोशी ब्यारेज भएर पानीको बहाव सोमबार साँझ १ लाख ७० हजारदेखि १ लाख ८० हजार क्यूसेक प्रति सेकेन्डका दरले मात्रै भइरहेकाले उक्त बस्तीहरुमा कोशीको पानी पसेको हो । यस अघि यो भन्दा बढी बहाव भएपनि यो बस्तीमा अहिलेसम्म पानी पसेको थिएन ।

भारत सरकारको कोशी योजनाले यसवर्ष ब्यारेज भन्दा तल कोशीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएपछि हनुमाननगरका ३ सय भन्दा बढी घरमा पानी पसेको हो ।

यसवर्ष भारतीय कोशी योजनाका अधिकारीहरु र भारतीय ठेकेदारहरुले आफुखुशी बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि अहिले कोसीको बहाव पश्चिमी तटबन्धतिर मोडिँदा बस्तीहरु जोखिममा परेका हुन ।