मदन पुरस्कार पाउने चौथी महिला-नीलम कार्की

मदन पुरस्कार गुठीले शान्तदास मानन्धरलाई जगदम्बाश्री सम्मान र उपन्यासकार नीलम कार्की ‘निहारिका’लाई मदन पुरस्कार दिने घोषणा गरेको छ।

मदन पुरस्कार गुठीले सोमवार जारी गरेको विज्ञप्तिमा ‘बालसाहित्यको विकास, विस्तार तथा प्रवर्धनका लागि पाँच दशकसम्म योगदान पुर्‍याएकाले’ मानन्धर र ‘योगमाया’ उपन्यासका लागि कार्कीलाई क्रमश: २०७४ को जगदम्बाश्री र मदन पुरस्कार दिने निर्णय लिइएको उल्लेख छ।

नेपाली साहित्यमा प्रतिष्ठित मानिने मदन पुरस्कार पाउने कार्की चौथी महिला हुन।

‘योगमाया’ राणाकालमा समाजसुधारका लागि विद्रोह गरेकी भोजपुरकी महिला योगमायाका जीवनीमा आधारित भएर लेखिएको हो।

नेपालमा लिखित अभिलेख पाउन सजिलो नभएकाले उपन्यासका लागि योगमायाबारे अनुसन्धान गर्न धेरै कठिन भएको कार्कीको अनुभव छ।

हाल अमेरिकामा बस्दै आएकी कार्कीले बीबीसी नेपालीलाई टेलिफोनमा भनिन्, “तर साथीभाइ र योगमायाकै नातेदारका वंशजको सहयोगमा अनुसन्धान गरेँ।

मदन पुरस्कार पाएकोमा प्रसन्नता व्यक्त गर्दै उनले भनिन्, “अरू पुस्तक पनि राम्रै थिए। मदन पुरस्कार पाउँछु भनेर अपेक्षै नराखेकी त थिइँन। पाउँदा खुसी लागेको छ।”अरू पुस्तक पनि राम्रै थिए। मदन पुरस्कार पाउँछु भनेर अपेक्षै नराखेकी त थिइँन। पाउँदा खुसी लागेको छ

नीलम कार्की निहारिका, उपन्यासकार

मदन पुरस्कार पाउने अरू महिला

विसं २०२२ मा ‘शिरीषको फूल’ उपन्यासका लागि पारिजात (विष्णुकुमारी वाइबा) लाई मदन पुरस्कार दिइएको थियो।

त्यस्तै विसं २०६७ मा प्रकाशित आत्मजीवनीपरक निबन्ध ‘जीवन काँडा कि फूल’ का लागि झमककुमारी घिमिरे र विसं २०७० मा प्रकाशित संस्मरणात्मक कृति ‘खलङ्गामा हमला – एउटी नर्सको डायरी’ का लागि राधा पौडेलले मदन पुरस्कार प्राप्त गरेका थिए।

विसं २०१२ मा स्थापित मदन पुरस्कार पहिलो पटक विसं २०१३ मा ‘हाम्रो लोक संस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’का लागि चित्तरञ्जन नेपाली र ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ का लागि बलराम जोशीलाई संयुक्त रूपमा दिइएको थियो जोशीले ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रो पटक २०१७ मा र ‘कर्णाली लोक संस्कृति’ नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रो पटक पनि २०२८ मा मदन पुरस्कार प्राप्त गरेका थिए।

गुठीका अनुसार यस वर्षको मदन पुरस्कारका लागि २५३ वटा पुस्तकहरू प्राप्त भएका थिए।

तीमध्ये योगमाया, कैरन, नथिया, पाठशाला, भुइयाँ, लिम्बुनी गाउँ र हिमाली दर्शन नामक कृतिहरू अन्तिम चरणमा परेका थिए।