१५ महिना देखी अस्पतालले बन्धक बनाएका सुरज छुटे
बुटवल- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वषिर्य सुरज मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि २०७४ साल जेठ १४ गते बुटवल अस्पताल लाइन नजिकै रहेको जेनस अस्पतालमा भर्ना भएका थिए ।
उपचार सकिएको लामो समयसम्म बन्धक बनेका सुरज बिक शुक्रबार घर गएका छन् । बाबु र दाइले उपचार खर्च वापतको रकम आगामी पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको हो ।
भर्ना भएको ६ महिनापछि उनको उपचार पूरा भएको थियो तर, उपचार खर्च तिर्न नसक्दा घर जान पाएनन् । उपचारवापत तिर्नुपर्ने रकम, फार्मेसीमा औषधि किनको र होटलमा खाना खाएको पैसा नतिर्दा उनी डिस्चार्ज भएनन् ।
अस्पतालको उपचार वापतको खर्च करिब १२ लाख, औषधीको करिब २ लाख र होटेलमा खाना खाएको एक लाख भन्दा बढी तिर्नुपर्ने देखिएको छ ।
तिर्नुपर्ने रकममा अस्पतालले २५ प्रतिशत छुट गरी पुस मसान्तसम्म सुरजका दाजु दीपक बिक र बुबा भगवती बिकले दिने सहमतिमा कागज गरेर सुरजलाई घर फर्काइएको छ । अस्पतालको बिलमा शंका लागे सरकारी र निजी अस्पतालका प्रतिनिधि राखेर भेरिफाई गरेर मात्र भुक्तानी दिने मौखिक सहमति भएको डीएसपी मल्लले जानकारी दिए ।
आफ्नो एक कठ्ठा जग्गा दृष्टिबन्धक राखेर एक लाख रुपैयाँ लिएर आएका थिए । तर सोचे भन्दा १५ गुणा बढी बिल आएपछि तिर्न नसकेपछि उनी अस्पतालमै थन्किए । सबै रकम जोड्दा १५ लाखको हाराहारीमा खर्च भएको सुरजको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बताए ।