आज कृष्ण जन्माष्टमी पर्व मनाईंदै
काठमाडौं- आज भाद्र कृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको सम्झना यो पर्व मनाईंदै छ । ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ । मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।
बाल्यकालदेखि नै बिचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए ।
कौरव र पाण्डवकाबीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा कृष्णले युद्धको शिक्षा दिएका थिए । मानव जातिलाई सुरक्षित पारी धर्म रक्षाका लागि धर्तीमा अवतरित कृष्णले कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिको अन्त्य गरेको मानिन्छ । यसै पर्वको अवसरमा ललितपुर पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिरलगायत देशैभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्नेको बिहानैदेखि भिड लागेको छ ।
विभिन्न स्थानमा रथ तथा शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । आजको दिन मानिसहरु व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।