ओली–नेपाल फुटाउने खनालको खेल
काठमाडौं÷ विगतमा केही समय कटुता साँधेका प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले भने निकै घनिष्ठ भएका छन् । ओली–नेपाल एमाले र माओवादी केन्द्रबीचको एकतासँगै एकढिक्का भएका हुन् ।
पछिल्लोसमय उनीहरु यति घनिष्ठ छन् कि, स्रोतका अनुसार प्रधानमन्त्री ओलीले हरेक दिन बिहान मोबाइलबाट पहिलो कल नेता नेपाललाई नै गर्छन्, त्यसपछि मात्रै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेताहरुलाई । ओलीले आफ्नो तर्फबाट गरिने हरेक निर्णयमा समेत नेता नेपालसँग परामर्श लिने गरेको स्रोत बताउँछ ।
प्रधानमन्त्री ओली आफूपछि पार्टी नेतृत्व नेता नेपाललाई सुम्पने मनस्थितिमा छन् । पूर्वप्रधानमन्त्री दाहाल पनि अहिले अध्यक्ष भएको हुनाले त्यही पदका लागि फेरि मरिहत्ते गर्न आवश्यक नहुने प्रधानमन्त्री ओलीको बुझाइ रहेको स्रोतको ठम्याई छ ।
नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तत्कालै परिवर्तन हुने अवस्था छैन । महाधिवेशन हुन अझै कम्तीमा २ वर्ष लाग्छ । महाधिवेशन त्यो भन्दा केही महिना लम्बिन पनि सक्छ । नेकपामा केन्द्रपछि अहिले प्रदेश र जिल्ला कमिटीको नेतृत्व चयन प्रकृया चलिरहेको छ ।
सातवटै प्रदेश तथा ७७ वटै जिल्ला कमिटीको नेतृत्वका लागि गठित कार्यदलको प्रतिवेदन पार्टी मुख्यालयमा आइसकेको छ । प्रदेश १ र २ ले पनि निर्धारित समय भन्दा ढिलो गरी भए पनि प्रतिवेदन बुझाई सकेका छन् । तर केही प्रदेश र जिल्ला कमिटीका लागि सम्बन्धित कार्यदलले पठाएको प्रतिवेदनमा केही विवाद उत्पन्न भएको थियो । त्यो अहिले मिलिसकेको पार्टी मुख्यालयका कार्यालय सचिव तथा सांसद कृष्णगोपाल श्रेष्ठ बताउँछन् ।
केही जिल्लामा भने प्रतिवेदन पठाउँदा ओली पक्षले नेपाल पक्षलाई बढारेको आरोप समेत सार्वजनिक भएको छ । विभिन्न जिल्लाबाट ओली पक्षले पेल्यो भन्दै नेता नेपाललाई टेलिफोनबाट गुनासो सुनाउने र त्यसैको बेलिबिस्तार लगाउनकै लागि उनलाई भेट्न चाहनेहरुको पनि कमी छैन । तर वरिष्ठ नेता नेपालले पछिल्लो समय त्यस्ता जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको गुनासो सुन्न छोडेको स्रोत बताउँछ । नेता नेपालले भने कार्यदलले बुझाएको प्रतिवेदन र गुनासो गर्ने नेता तथा कार्यकर्ता बारे कुनै प्रतिक्रिया दिएका छैनन् । प्रायः जिल्ला नेता तथा कार्यकर्ताले कमिटीमा आफू नपरेपछि ओली पक्षले पेल्यो भन्दै हिड्न थालेका छन् ।
नेता नेपालले आफ्नो गुनासो नसुनेपछि त्यस्ता जिल्ला नेता र कार्यकर्ताहरु पछिल्लो समय पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सचिव योगेश भट्टराई कहाँ जान थालेको पाइएको छ । पूर्वप्रधानमन्त्री खनाल पार्टी एकीकरणपछि वरियताक्रममा आफूलाई नेता नेपाल भन्दा पछि राखेपछि त्यति सन्तुष्ट हुन सकेका छैनन् । उनले राष्ट्रपतिका लागि समेत मरिहत्ते गरेका थिए । तर राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहो¥याएपछि अध्यक्षद्वय ओली र दाहालप्रति आक्रोसित बनेको स्रोत बताउँछ । पूर्वप्रधानमन्त्री खनाललाई नेता नेपाल ओलीसँग घनिष्ठ भएको पनि त्यति मन परेको छैन । स्रोतका अनुसार खनाल, नेपाललाई ओलीबाट छुटाउन चाहन्छन् । त्यही कारण उनले प्रदेश तथा जिल्ला कमिटीमा नपरेर असन्तुष्ट बनेका नेता तथा कार्यकर्ताहरुलाई संरक्षण तथा धाप दिने गरेको बुझिएको छ । तर यसबारेमा उनले सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
त्यस्तै सचिव भट्टराई प्रधानमन्त्री ओलीले आफूलाई मन्त्री नबनाएकोमा असन्तुष्ट छन् । कुनै पनि पार्टीको बहुमतको सरकार हुँदा प्राय प्रचार विभाग प्रमुख सांसद भएको खण्डमा सञ्चार मन्त्री बनाउने चलन छ । युवा नेता भट्टराई एमालेको प्रचार विभाग प्रमुख भए तर सञ्चार त के कुनै मन्त्री समेत पाएनन् । ओलीले चुनाव प्रचारताका भट्टराईको निर्वाचन क्षेत्रमा गएर ‘योगेशलाई चुनाव जिताउनस्, मन्त्रीको बिल्ला भिराउने जिम्मा मेरो भयो’ समेत भनेका थिए । ओलीको त्यो भनाइको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर ओलीले आफू प्रधानमन्त्री भए पनि भट्टराईलाई मन्त्री बनाएनन् । त्यही कारण भट्टराई असन्तुष्ट बनेका हुन् । आफू मन्त्री मण्डलमा नपरेपछि भट्टराई अहिले सरकारको आलोचकका रुपमा प्रंस्तुत हुन थालेका छन् । उनले पार्टीभित्र पनि ओलीको आलोचना गर्न थालेका छन् । तसर्थ अहिले ओली र नेपाललाई फुटाउन खनाल र भट्टराईले खेल्न थालेको स्रोत बताउँछ ।