गुल्मीदरबारमा शैक्षिक प्रतियोगिता
गुल्मी / गुल्मीदरबार गाउँपालिकामा ‘‘बालमैत्री विद्यालय तथा बालकेन्द्रित सिकाइ प्रक्रियामा प्रधानाध्यापक” विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभापति अशोककुमार थापाले यहाँको शिक्षामा गाउँपालिकाको धेरै लगानी परेकाले सबै विद्यालयबाट सोही अनुसारको प्रतिफल प्राप्त गर्न चाहेको बताए । सोही कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपक भण्डारीले गत वर्षको समीक्षा गर्दै यस वर्ष हुने शैक्षिक गतिविधिको जानकारी दिए । उनका अनुसार भदौ २३ गते पर्ने राष्ट्रिय शिक्षा दिवशको पूर्वसन्ध्यामा भदौ २२ गते यस गाउँपालिकामा विविध कार्यक्रम हुनेछन् । माध्यमिक तहमा हाजिरी जवाफ प्रतियोगिता, आधारभूत तहमा वादविवाद प्रतियोगिता र प्राथमिक तहमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । राजारुन्खा मा.वि.मा हुने उक्त कार्यक्रममा सहभागिता जनाउन सबै विद्यालयलाई अनुरोध गरिएको छ ।
यस वर्ष तय गरिएको शिक्षा दिवशको नारा ‘समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ रहेको छ । शिक्षा शाखा प्रमुख भण्डारीले यस्तो नारा सार्थक पार्न यस गाउँपालिकाले कुनै पनि बालबालिका विद्यालय शिक्षा लिन बञ्चित नहोउन् भनेर छात्रबृत्तिको व्यवस्था गर्न लागिएको बताए । उनले भने एसईईमा राम्रो नतिजा ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई पनि प्रोत्साहन पुरस्कार दिइने छ ।
हाम्रा स्थानीय प्रतिनिधि नवीन कार्कीका अनुसार यस गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको उक्त गोष्ठीमा गाउँपालिका भित्रका सबै विद्यालयका प्रधानाध्यापकको उपस्थिति थियो ।