चार वर्षमा पूरा भयो मोदीको भाकल
काठमाडौं÷ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दूहरुको धार्मिक धरोहर पशुपतिनाथको भाकल ४ वर्षमा बल्ल पूरा गरेका छन् ।
मठ, मन्दिर, मस्जिद, गुम्बा र चर्च लगायतका धार्मिक स्थलमा पुगेर कुनै पनि कार्य गर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नु नै भाकल हो । विभिन्न धर्मावलम्वीहरुले आफ्नो अनुकुलको धार्मिक स्थल पुगेर भाकल गर्छन् । भाकल कुनै व्यक्तिगत हितका लागि हुन्छ, कुनै सामूहिक । कसैले धार्मिकस्थलकै लागि यस्तो गर्छु भनेर समेत भाकल गर्छन् । त्यस्तो भाकल प्रायः पूर्वाधारप्रति लक्षित हुन्छ । धार्मिकस्थल परिसरमा वा त्यसको नजिक कुनै पूर्वाधार बनाउने प्रतिवद्धता जाहेर गर्नु पनि भाकल नै हो ।
भारतीय प्रधानमन्त्री मोदीले ४ वर्षअघि पशुपतिनाथको दर्शन गर्दा त्यस्तै खालको भाकल गरेका थिए । प्रधानमन्त्री मोदीले सन् २०१४ को जुलाईमा पहिलो पटक राजकीय भ्रमण गर्दा पशुपतिनाथमा धर्मशाला निर्माण गर्ने आश्वासन दिएका थिए । तर प्रधानमन्त्री त्यसपछि फेरि दुई पटक नेपाल आए, काठमाडौ आउँदा हरेक पटक पशुपतिनाथको दर्शन समेत गरे तर उनको त्यो भाकल ३ वर्षसम्म अधुरै रह्यो । प्रधानमन्त्री मोदीको त्यो भाकल चौथो वर्ष अर्थात् यस वर्ष बल्ल पूरा भएको छ ।
पाशुपत क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको आश्वासनपछि धर्मशाला निर्माण भएको छ । २२ करोड भन्दा बढी भारतीय रुपैयाँमा निर्माण भएको धर्मशाला पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । ८८ कोठाको धर्मशालामा ३ सय ९७ जना बस्न मिल्ने अवस्था छ । धर्मशाला प्रधानमन्त्री के.पी ओली र समकक्षी मोदीले शुक्रबार उद्घाटन गरेका छन् ।