बजार अनुगमन थालियो

पाल्पा / लामो समयदेखि ठप्प रहेको पाल्पाको बजार अनुगमन कार्य थालिएको छ । समय समयमा अनुगमन नहुँदा उपभोक्ताहरु ठगीदै आएको गुनासो बढेपछि रेसुङ्गा टुडे र अन्य पत्रपत्रिकाहरुमा जिल्लामा बजार अनुगमन हुन नसकेको भनि समाचार प्रकाशित भएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको अगुवाईमा पाल्पा व्यापार संघ, प्रहरी, पत्रकारको संयुक्त टोलीले बजार अनुगमनलाई तीव्रता दिएका छन् ।
जिल्लाका अधिकांस पसलमा विक्रिका लागि राखिएका सामानको मूल्यमा एकरुपता नभएको, मासु व्यवसायीले अस्वस्थ तथा अयोग्य मासु खुल्ला रुपमा विक्रि गरेको, होटल तथा रेष्टुराँहरुमा विक्रिका लागि राखिएका खाद्य वस्तुमा अखाद्य वस्तुको मिसावट बढेको भन्ने सेवाग्राहीको व्यापक गुनासो आएपछि गत आईतबारको अंकमा रेसुङ्गा टुडेले पाल्पामा बजार अनुगमन ठप्प, व्यवसायीको मनोमानी शिर्षकमा समाचार प्रकाशित गरेको थियो । जिल्ला प्रशासन कार्यालयले तानसेनका बजारमा र रैनादेवी छहरा गाउँपालिका ४ र ५ का मुख्य बजारहरुमा अनुगमन गरिसकेको अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले बताए ।
अनुगमन टोलीले गरेको रैनादेवी छहरा म्यालढाप र भालुखान बजारका १८ वटा पसलमा बिना अनुमति बिक्रीका लागि राखिएका सुर्तिजन्य पदार्थ र म्याद नाघेका अखाद्य सामाग्री जफत गरी नष्ट गरिएको छ । यता तानसेनका अधिकांश बजारहरुमा मूल्य सूचि नै नराखि व्यापार गरेको, म्याद गुज्रीएका वस्तुहरु विक्रि गरिएको, होटल रेष्टुराँहरुमा बासि खानेकुराहरु विक्रि भइरेहको सडकपेटीमा व्यापार गरेको, अधिकांश पसलहरु दर्ता नगरी सञ्चालन गरेको पाईएको अनुगमन टोलिका सयोजक तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हुम बहादुर पाण्डेले जानकारी दिए । घरेलु, जिल्ला प्रशासन र वाणिज्य कार्यालयको क्षेत्राधिकार स्थानीय तहलाई सुम्पिएपछि लामो समयसम्म जिल्लामा बजार अनुगमन ठप्प रहेको थियो । जसको फलस्वरुप व्यापारीहरुको मनोमानी बढेको जिल्लावासीहरुको गुनासो रहेको छ । तर अनुगमनका क्रममा अधिकांश ब्यवसायीहरुले आफुहरुलाई जानकारी नभएकै कारण म्याद गुज्रिएका सामानहरु विक्रि गरिएको प्रतिक्रिया दिएका छन् । उनीहरुले यस विषयमा कुनै पनि निकायले जानकारी नगराएका कारण यस्तो गरिएको बताएका छन् ।