प्रहरीको कामप्रति चर्को असन्तुष्टि

काठमाडौं- अपराध नियन्त्रणमा मुख्य जिम्मेवारी लिनुपर्ने नेपाल प्रहरीको कामप्रति प्रधानमन्त्रीदेखि सर्वसाधारण समेत असन्तुष्ट देखिएका छन् । कञ्चनपुर घटना र त्यसको अनुसन्धान बारे प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्पादकहरुको छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन् –“त्यहाँ (कञ्चनपुरमा) अप्रिय घटना भयो । निन्दनीय घटना भयो । त्यसपछि भर केमा परियो भन्दा पुलिसको । के भएको हो, राम्ररी गर्नू भनियो । काम हुँदैछ, हामी गर्दैछौं भनेपछि होला भनियो । जनताको अलिकति आवाज सुनियो । यो त चित्तबुझ्दो रिजल्ट आइराखेको छैन भनेपछि सीआइबीको अर्को टोली पठाइयो । त्यसको निश्कर्ष नआउँदै पुलिसले एकजना गिरफ्तार गर्यो। त्यसलाई गिरफ्तार गरेपछि बल्ल यो छानविन ठीक भएन भन्ने आयो । कहीँ ढाकछोप त भएको छैन ? भनेर हामीले सीआइबी पठाएका थियौं । त्यसलाई ढाकछोप गर्न हुनसक्छ वा त्यस्तै भएको पनि हुन सक्छ वा अरु केही निश्कर्षमा पुग्नुभन्दा अगाडि भन्न सकिन्न ।”

उनले थपे “सीआइबीको रिपोर्ट आउनुभन्दा अगाडि प्रहरीले एउटा मान्छे गिरफ्तार ग¥यो । केही कुराहरु बनावटी जस्ता देखिए । त्यहाँ जनताले आवाज उठाए । त्यहाँ जनताले आवाज उठाएको भन्दा बढी हामीले बुझ्दाखेरि अलिकति संदिग्ध गतिविधि देखियो । मृतक निर्मला पन्तका बुबालाई बोलाएर जे खालको प्रश्न र व्यवहार भयो भन्ने सुनियो, त्यसले सन्देह पैदा गर्यो। त्यसपछि हामीले एसपी फिर्ता गर्यौ । डीएसपी फिर्ता गर्यौ । सिडियो फिर्ता गर्यौ । अर्को टीम पठायौं । सहसचिवको नेतृत्वमा तीनजना डीआइजी राखेर उच्चस्तरीय छानविन टोली पठायौं ।”

सुन तस्करीमा प्रहरी नै संलग्न हुनु, डा. गोविन्द केसीले जुम्लामा अनसन बसेका बेला प्रहरीले देखाएको अशिष्ट व्यवहार, निशान खड्काको अपहरण र हत्या काण्डमा भक्तपुरमा भएको इन्काउन्टर, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउनेको हिरासतमै मृत्युलगायतका घटनाबाट प्रहरीको चर्को आलोचना भइरहेका बेला कञ्चनपुरमा १३ वर्षीय किशोरीको बलात्कार र हत्या जस्ता घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय हुनु र अर्को टोली पठाउँदा पनि अनुसन्धान सुस्त हुनु र बलात्कार, हत्या जस्ता घटना बढ्दै जानुले प्रहरीप्रति सर्वसाधारण निरास हुँदै गएका छन् ।

अपहरणका अभियुक्त भएको आशंकामा प्रहरीले गैरन्यायिक हत्या गरेको भन्दै अधिकारकर्मीदेखि सांसदहरुले समेत भक्तपुरमा भएको घटनाको कडा निन्दा गरेका छन् ।

भीड नियन्त्रणमा लिन झुठो सन्देश फैलाउने, गलत सन्देश प्रचार गर्ने, आचारसंहिताविरुद्ध र गैरकानूनी तरिकाले काम गर्ने र सर्वसाधारणलाई समेत गलत सूचना दिएर भ्रमित तुल्याउन खोजेको आरोप प्रहरीमाथि लागेको छ ।

झण्डै एक महिनासम्म अनुसन्धानका नाममा कन्चनपुरका तत्कालीन एसपीले आलटाल गरेको र गृहमन्त्रालय तथा प्रधानमन्त्री कार्यालयलाई समेत झुठो विवरण पठाएको खुलासा भएको छ । यसले गर्दा सुरक्षा निकायभित्र कति ठूलो वेइमानी छ भन्ने स्पष्ट हुन्छ ।
अपराध नियन्त्रण र अनुसन्धान गर्नुपर्ने प्रहरीको भूमिका सुस्त र विवादास्पद भएको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्ना मातहतका अधिकृतसँग व्यापक छलफल शुरु गरेका छन् । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याका बारेमा नयाँ कोणबाट अनुसन्धान शुरु गरिएको महानिरीक्षक खनालले बताएका छन् ।

गृहमन्त्री रामबहादुर थापा वादलले आईजीपी खनाललाई केही दिनअघि मन्त्रालयमा बोलाएर अपराधीलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

यसैवीच माओवादीका पूर्वलडाकु (पूर्व बालसैनिक) लेनिन विष्टलाई विमास्थल अध्यागमन कार्यालयले बैंकक जानबाट रोकेको विषयलाई लिएर प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालयसँग स्पष्टिकरण मागेको छ । गृहमन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई स्पष्टिकरण दिएपनि के जवाफ दियो भन्ने कुरा खुलाइएको छैन । तर गृहमन्त्रालयले पूर्वलडाकुका नाममा विष्टले लाखौं रुपैयाँ चन्दा उठाएर खाएको आरोप लगाइएको छ ।

स्रोतका अनुसार द्वन्द्वमा परेका युवाको सामाजिक संलग्नता विषयक गोष्ठीमा भाग लिन विष्ट त्यसतर्फ जान लाग्दा गृहमन्त्रीको आदेशमा उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गराइएको थियो भने त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको मानवअधिकारबारे प्रश्न उठाउने सम्भावना बढाएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले गृहसचिव प्रेमबहादुर राई र अध्यागमन विभागका महानिर्देशक इश्वरराज पौडेललाई पत्र लेखेर त्यसबारेमा चासो राखेको थियो । विष्टले गृहमन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।