यौन उत्पीडन सहँदै ज्यान गुमाएकी नमुनाका श्रीमान कष्टडीमा

बुटवल । केहि दिन अघि रुपन्देहीको कोटीहवामा झुण्डिएको अवस्थामा मृत फेला परेकी एक महिलाका श्रीमान श्रीमतिको हत्या आरोपमा प्रहरी कष्टडीमा परेका छन् । मृत्युको ८ दिन अघि सम्म श्रीमानको पटक पटकको यौन उत्पिडन सहन नसकेको पिडा बाबु आमालाई समेत सुनाउन बाध्य भएकी तिलोत्तमा –१५ कोटीहवाकी २४ बर्षिय नमुना लम्साल घिमिरे आफ्नै घरको पंखामा साउन २८ गते झुण्डिएको अबस्थामा मृत फेला परेकी थिईन् ।

नमुना लम्साल घिमिरे

उनलाई आफ्नै श्रीमान धुर्ब भनेर चिनिने धिरज घिमिरेले हत्या गरी झुण्डाएको आरोपमा नियन्त्रणमा लिई मुद्धा चलाईएको बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिल्ली मल्लले जानकारी दिएका छन् । नमुनाको गत माघ २४ गते पेशाले ईञ्जिनियर घिमिरे संग मागी बिबाह भएको थियो । जानकारका अनुसार बिबाह पछि श्रीमानको यौन उत्पिडनबाट उनि पाठेघरको समस्यामा थिईन् । मृत्युको केहि दिन अघि मात्र उनले पाठेघरको अप्रेशन गरेकोले दुखाईको पिडामा थिईन् । उनि कोठाबाट निस्कन नसक्ने र भित्रै स्याहार सुसार गर्नेहरुको खाँचो थियो ।
सुरुमा सैनामैना नगरपालिका–२, सोरौलीका नमुनाका बाबु गोविन्द प्रसाद लम्सालले किटानी जाहेरी दिन जाँदा प्रहरीले लिन मानेको थिएन । त्यस विरुद्ध नमुनाका माईतीजनले प्रहरी कार्यालय घेराउ र नारावाजी लगायतको दवाव दिए पछि बल्ल प्रहरीले जाहेरी लिएर उनका श्रीमानलाई पक्राउ गरेको थियो ।
‘‘छोरीको शंकास्पदरुपमा हत्या गरिएको र नयाँ कानुन लाग्नुपूर्व नै बदनियत ढंगले हत्या गरेर पंखामा झुण्डाएको हो । माइत गएर फर्केको ८ दिन पछि यस्तो घटना भयो, नानुले माइत आउँदा आफूलाई श्रीमानले जबर्जस्ती यौन उत्पिडन दिने, हिंसा गर्ने गरेको सुनाउँथिन्, अहिले यसरी हत्या नै गरियो, नमुनाका बाबुले यस्तो बताउँदै आएका छन् ।
नमुना त्यस्तो अवस्थामा मृत फेला परेको जानकारी उनका ससुराले बाबुलाई गराएका थिए । घिमिरेका परिवारको राजनैतिक पहुँच भएको हुँदा प्रहरीले सुरुमा मुद्धा दर्ता गराउन नमानेको माईतीजनको आरोप रहेको छ । डिएसपी मल्लले भने –‘कुनै पनि दवावमा नपरी निजलाई १२ दिन अघिदेखि नियन्त्रणमा लिई मुद्धा चलाईएको छ र सुक्ष्मढंगले अनुसन्धान गरिदैछ ।