मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम
काठमाडौँ-झन्झटिला ठूला फारामको सट्टा सेवाग्राही आफँैले भरेर काम गर्नसक्ने खालको सानो तर सरल भाषाको फारम लागू गर्न थालिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत तथा नापी कार्यालयमा जग्गासम्बन्धी काम गर्न सरल भाषाको फारम लागू गर्न थालिएको बताउनुभएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो ।सेवाग्राहीले आफैँले भर्नसक्ने खालको फारम अब लागू गर्दछौँ, यसबाट सेवाग्राहीलाई अनावश्यक खर्चे व्यहोर्नु पर्दैन “मन्त्री अर्यालले भन्नुभयो” ।
मन्त्री अर्यालले पहिलो चरणमा आगामी हप्ताबाट अनलाइन प्रणाली लागू भएका ३० वटा मालपोत तथा नापी कार्यालयमा ती सानो साइजका फारम भर्ने व्यवस्था लागू गरिन लागेको उल्लेख गर्दै यो व्यवस्था लागूभएपछि तेस्रो पक्षको सहयोग लिनुनपर्ने र विचौलियाकोसमेत अन्त्य हुने बताउनुभयो ।
मन्त्री अर्यालले मालपोत तथा नापी कार्यालय सुधारका लागि हालै ११ बुँदे निर्देशनसमेत दिइएको बताउँदै केही महिनाभित्रमा नै जनताले अनुभूति गर्ने खालको काम आफूले गर्ने धारणा व्यक्त गर्नुभयो ।
नागरिकको बढी भीडभाड हुने कार्यालयको बेथितिलाई रोक्न मन्त्रालयले विशेष अभियान सञ्चालन गर्न लागेको छ।
उहाँले भन्नुभयो” आफ्नो मातहतका १३१ कार्यालयमा चाँडै नै अनलाइन प्रणालीबाट सेवा दिन थालिने छ।
–––