नेपालमै पढेका डाक्टर अब्बल, विदेशमा पढेर अाएका बढी फेल

काठमाडौं- नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर फर्किएका युवा सबैभन्दा बढी फेल भएका छन्।

परीक्षामा नेपालमै डाक्टरी पढेका युवा भने अन्य देशबाट पढेर आएकाका तुलनामा बढी पास भएका छन्।

काउन्सिलका अनुसार सन् २०१६ मा चिकित्सा शिक्षामा स्नातकोत्तर पास गरेका पाँच सय ९२ जना लाइसेन्स परीक्षामा सहभागी थिए।

तीमध्ये दुई सय १२ जना फेल भएका थिए। सन् २०१७ को परीक्षामा एक हजार चार सय ८१ जना स्नातकोत्तर डाक्टर सहभागी थिए। तीमध्ये पाँच सय २० जना फेल भएका थिए । त्यस्तै सन् २०१८ मा ६ सय ८७ जना डाक्टरले परीक्षा दिँदा दुई सय ६६ जना फेल भएका छन्।

मेडिकल काउन्सिलको परीक्षामा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्समा डाक्टरी पढेर आएका नेपाली युवा बढी फेल हुने गरेका छन्। यस्तै भारतमा डेन्टल सर्जरी पढेर आएका युवा सबैभन्दा बढी फेल हुने गरेको तथ्यांक छ।

सन् २०१६ मा तीन हजार तीन सय नौजना एमबिबिएस डाक्टर लाइसेन्स परीक्षामा सहभागी थिए। तीमध्ये एक हजार एक सय पाँचजना फेल भएका थिए। सन् २०१७ मा परीक्षामा सहभागी दुई हजार ३८ जनामध्ये आठ सय ५५ जना फेल भएका थिए।

सन् २०१८ मा एक हजार ६ सय ५० जना एमबिबिएसले लाइसेन्स परीक्षामा सहभागी जनाएकामा चार सय २४ जना फेल भएका छन्।

एकपटक लाइसेन्स परीक्षामा फेल भएका डाक्टर दोहो(याएर परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ। डाक्टरी पढेका विद्यार्थीले काउन्सिलको परीक्षा पास नगरेसम्म नेपालमा चिकित्सा क्षेत्रमा काम गर्नु अवैध मानिन्छ।

दन्तचिकित्सा (बिडिएस) तर्फ सन् २०१६ मा तीन सय ६३ जना काउन्सिल परीक्षामा सहभागी थिए। तीमध्ये एक सय पाँचजना फेल भएका थिए।

सन् २०१७ मा परीक्षामा सहभागी तीन सय ९९ जनामध्ये ६८ जना फेल भएका थिए। सन् २०१८ मा तीन सय पाँचजना परीक्षामा सहभागी थिए । तीमध्ये ३९ जना अनुत्तीर्ण भएका छन्। दन्तचिकित्सातर्फ भारतबाट अध्ययन गरेर आएकाहरू सबैभन्दा बढी फेल हुने गरेको काउन्सिलको तथ्यांक छ।

चिकित्सा शिक्षातर्फ भने काउन्सिल परीक्षामा सबैभन्दा बढी फेल हुनेमा चीन, रुस, किर्गिस्तान, युक्रेन र फिलिपिन्सबाट डाक्टर पढेर फर्केकाहरू छन्।

काउन्सिलका रजिस्ट्रार डा। दिलीप शर्मा चिकित्साशास्त्र अध्ययनका लागि विदेश जानेहरू थोरै अंक ल्याएर फेल हुने गरेको बताउँछन्। ‘हाम्रा प्रश्न निकै स्ट्यान्डर्ड हुन्छन् जसले चिकित्साशास्त्र अध्ययन पूरा गरेर पनि पर्याप्त अभ्यास गर्दैनन्, उनीहरू लाइसेन्स परीक्षामा फेल हुन्छन्,’ शर्माले भने।

अर्कोतर्फ विदेशी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई राम्रो अध्ययन नगरे पनि पास गराइदिन्छन्। ‘विदेशी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई नेपालमै फर्किएर अभ्यास गर्छन् भनेर सहजै पास गराउँछन्’, नाम नबताउने सर्तमा काउन्सिलका एक डाक्टरले भने। आजको नागरिक दैनिकबाट ।