साइबर अपराध र मानव बेचबिखनका घटनामा वृद्धि
काठमाडौँ-महानगरीय अपराध महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती महाशाखामा एक वर्षमा एक हजार ५०० भन्दा बढी साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएको बताउनुहुन्छ । “प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटनामा निवेदन दिनेको सङ्ख्या पनि बढ्दो छ,”–उहाँ भन्नुहुन्छ ।
मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ ।
साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । प्रहरी प्रधान कार्यालयले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिएको छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या गर्ने गरेको क्रम बढ्दै गएकाले यस्ता अपराधबाट जोगिन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा महिला तथा बालबालिका बेचबिखन गर्ने घटनासमेत बढेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार साइबर अपराधमा आर्थिक वर्ष २०७१÷७२ मा ३५, आव २०७२÷७३ मा ४३, आव २०७३÷७४ मा ३२ र आव २०७४⁄७५ मा सयजना व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।
यस्तै मानव बेचबिखन सम्बन्धमा आव २०७१÷७२ मा १८१, आव २०७२÷७३ मा २१२, आव २०७३÷७४ मा २२७ र आव २०७४÷७५ मा ३०८ व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।
नेपाल प्रहरीले साइबर अपराध सम्बन्धमा हाल महानगरीय अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँ र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत मुद्दा चलाउँदै आएको छ भने मानव बेचबिखनको क्षेत्रमा भने देशभरका २०८ प्रहरी इकाइबाट मुद्दा चल्दै आएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्री साइबर अपराधमा युवा वर्ग बढी संलग्न रहेको बताउनुहुन्छ । “विशेषगरी १५ देखि १९ वर्षका युवायुवती साइबर अपराधमा धेरै लागेको पाइन्छ,” उहाँ भन्नुहुन्छ ।
मानव बेचविखनभित्र यौन शोषण, श्रम शोषण, मानव अङ्ग प्रत्यारोपण, वेश्यावृत्तिलगायतलाई मानव बेचविखनअन्तर्गत राखेकाले मानव बेचबिखनका क्षेत्रमा वृद्धि भएको उहाँको भनाइ छ । साइबर र मानव बेचबिखनको क्षेत्रमा प्रहरीले सक्रियताका साथ काम गरेको उहाँको भनाइ छ ।
तराई क्षेत्रमा खुला नाकाका कारण पनि मानव बेचबिखन धेरै हुने गरेको छ । प्रहरीले आव २०७१÷७२ मा एक हजार ३७९, आव २०७२÷७३ मा एक हजार ६७३, आव २०७३÷७४ मा एक हजार ६३० र आव २०७४⁄७५ मा दुई हजार ७७ महिला तथा बालबालिकालाई तराईका विभिन्न नाकाबाट उद्दार गरेको छ ।