चीनतिरका सात नाका, खुल्छन् कि दशैं ताका ?
काठमाडौं- नेपाल र चीन पारवहन सम्झौताको प्रोटोकलमा सहमति भएको छ । प्रधानमन्त्री के.पी ओलीले सहमतिपछि मुलुकको उत्तरपट्टि रहेको सबै नाका खुल्ने स्थिति बनेको बताएका छन् ।
सहमतिपछि नेपालले चिनियाँ बन्दरगाह प्रयोग गर्न पाउने बाटो समेत खुलेको छ । पारवहन सम्झौंताको प्रोटोकलमा नेपालले तेस्रो मुलुकमा पनि बस्तुहरुको आयात र निर्यात गर्न पाउने उल्लेख गरिएको छ ।
काठमाडौंमा बुधबार र विहिबार बसेको नेपाल–चीन तेस्रो परामर्श बैठकमा चीनसँग जुटेको सहमतिबारे उद्योग मन्त्रालयले जानकारी गराएको हो । नेपाल–चीन बीचको महत्वपूर्ण समझदारीलाई एक औंपचारिक कार्यक्रमको आयोजना गरी छिट्टै सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।
नेपालले तेस्रो मुलुकको पारवहनका लागि रेल, सडक, रोपवे लगायतका जुनसुकै सवारी साधन पनि प्रयोग गर्न सक्ने गरी सहमति भएको हो । पारवहनका लागि नेपालले चीनका सबै सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न र हाललाई तियान्जेन, सेनजेन, लियानयुंगाङ, झाङझियाङ ४ वटा समुद्र्री बन्दरगाह प्रयोग गर्न सक्नेछ ।
सहमति अनुसार नेपालले पारवहन ढुवानीका आन्जाओ, ल्हासा र सिगात्से गरी ३ सुख्खा बन्दरगाह पनि प्रयोग गर्न सक्ने छ । नेपालतर्फको रसुवा, कोदारी, किमाङथाङका, नेचुङ, यारी र ओलाङचुंगोला नाका प्रयोग गर्ने सहमति पनि जुटेको छ । नेपालले पारबहनका लागि नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म जान सक्ने सहमतिमा उल्लेख छ ।
पारवहन सहजताका लागि नेपालका वाणिज्य सचिव र चीनका यातायात मन्त्रालयका उपमन्त्री रहनेगरी परामर्श संयन्त्र बनाइने भएको छ । वाणिज्यका सहसचिव र चीनको यातायात मन्त्रालयका महानिर्देशक स्तरको प्राविधिक परामर्श उपसमिति पनि बनाइने भएको छ ।