पूर्णचन्द्रले सम्हाले महारथीको जिम्मेवारी
को हुन् थापा ?
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री शुक्रबार प्रधानसेनापति पदबाट औपचारिक रुपमा विदा भएका छन् । ४० वर्ष नेपाली सेनामा विताएका क्षत्रीको विदाईमा जंगीअड्डाले शुक्रबार विशेष विदाइ समारोह आयोजना गरेको थियो ।
आइतबार (२४ भदौ) बाट अवकाश हुनु अघि क्षत्रीलाई शुक्रबार टुँडिखेलस्थित सैनिक मञ्चमा उच्च सम्मानसाथ ‘इज्जत अर्पण कवाज प्रदान गरि’ विदाई गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सहायक सेनानी दर्जाबाट नेपाली सेनामा प्रवेश गरेर महारथी भएका क्षत्री पदावधिको हदले अवकाश भएका हुन् ।
शुक्रबार टुँडीखेलस्थित सैनिक मञ्चमा इज्जत अर्पण कवाज प्रदानपछि जंगी अड्डामा आयोजित विशेष समारोहमा क्षत्री र कायम मुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले मन्तव्य दिएका थिए ।
अवकाशको एक महिनाअघि विदामा वस्ने परम्परा अनुसार क्षत्री साउन २३ गतेदेखि विदामा बसेपछि सरकारले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी रथी पूर्णचन्द्र थापालाई दिएको थियो । केही हप्ताअघि बसेको मन्त्रिपरिषद् वैठकले क्षत्रीको अवकाशपछि रथी थापालाई सेनापतिमा नियुक्तीका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै राष्ट्रपति भवन शितलनिवासमा थापालाई महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरी सेनाको गरिमामय पद प्रधानसेनापतिमा नियुक्ति गर्नु भएको हो ।
सेनापति पूर्णचन्द्र थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डरजस्तो पद पाउने थोरै अधिकृतमध्ये पर्छन् । २०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए ।
सेनामा मध्यमतहको कमाण्डरले गर्नुपर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन् । थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, नं. २ वाहिनीको वाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरिसकेका छन् । यसवाहेक उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिंग स्टाप, सेनाको महत्वपूर्ण नियुक्ती मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक र कार्यरथी तथा संभाररथी विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् ।
संयुक्त राष्ट्र संघमा पटक–पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा से.मु.पति, सन् १९८९ मा युनिफिल मिसन हे.क्वा.मा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए ।
त्यसैगरी, उनले सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवेक्षकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्नीया, हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए ।
संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व गरी युनाईटेड नेशन्स् मिशन ईन नेपाल (जेएमसिसी) अन्तरगत संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा पनि काम गरेका थिए ।
लम्जुङको पाखाथोकमा जन्मिएका थापा अवकासप्राप्त प्रमुख सेनानी फणेन्द्र बहादुर थापाका छोरा हुन् । उनका दाजु रोहित थापाले पनि शसस्त्र प्रहरीको एआईजीवाट अवकास पाएका थिए । सुप्रवल जनसेवाश्री तेश्रो, गोरखा दक्षिणबाहु तेश्रो र त्रिशक्ती पट्ट चौथो जस्ता महत्वपूर्ण मानपदवीहरुबाट विभुषित भइसकेका थापा पछिल्लो समय बलाधिकृत बिभागमा कार्यरत थिए ।