प्रधानमन्त्रीले सिलिण्डरका डल्लाको अन्त भयो भन्दै उद्घाटन गरेको गोबरग्यास प्लान्ट बिग्रियो

काठमाडौं- निकै महत्वका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको विराटनगरस्थित गोबरग्यास प्लान्ट सञ्चालनमा आएको दुई सातामै बिग्रिएको छ।

अघिल्लो आइतबार (१७ भदौ) मा परेकोे पानीले ग्याँस उत्पादन गर्ने स्थानमा क्षति पुर्‍याएपछि एक सातादेखि बन्द भएको हो।

विराटनगर महानगरपालिका १४ जतुवास्थित श्रीकृष्ण गौ सेवा सदनमा रहेको गोबर ग्याँस प्लान्टको ‘मेम्ब्रेन’ मा समस्या आएपछि उत्पादन रोकिएको स्रोतले बताएको छ।

‘कमजोर खालको ‘मेम्ब्रन’ मा परेको पानीको प्रेसर थेग्न नसकेपछि भत्कियो,’ नाम बताउन नचाहने स्रोतले भन्यो, ‘अहिले भारतीय प्राविधिक ल्याएर मर्मत गर्ने काम गरिँदैछ।’

तीन मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले ५ भदौमा विराटनगर पुगेर सो गोबरग्यास प्लान्टको उद्घाटन गरेका थिए।

प्लान्ट उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सिलिन्डर ग्यास प्रयोग गर्ने युग समाप्त भएको घोषणा गर्दै यो प्लान्ट सानो भएपनि महत्वपूर्ण उपलब्धि भएको दावी गरेका थिए।

ऊर्जामन्त्री वर्षमान पुन, कानुन न्याय तथा संसदीय व्यवस्थ मन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको समेत उद्घाटन कार्यक्रममा उपस्थिति थियो।

विराटनगर महानगरपालिका–१४ जतुवास्थित श्रीकृष्ण गौसेवा केन्द्रमा २ सय ६४ घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो।

सो प्लान्टबाट उत्पादित ग्यास ३२ घरमा पाइपका माध्यमबाट बितरण गरिदै आएको थियो।

गौसेवा र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले संयुक्त रुपमा गोरबग्यास प्लान्टको निर्माण गरेका थिए।

गौसेवा तथा केन्द्रका दुवैका अधिकारीहरुले ग्यास उत्पादन बन्द रहेको स्वीकार गरेपनि कारण चाहिँ फरक-फरक दिएका छन्।

गौसेवासँग सम्बद्ध शंकर अग्रवालले वरिपरिका थप घरमा समेत ग्यास विस्तार गर्ने क्रममा रहेकाले ग्यास उत्पादन बन्द गरिएको थियो।