छानविन निपक्ष नहुने संकेत पाएपछि राजिनामा दिएका केसी पुनः समितिमा फर्के
काठमाडौं– कञ्चनपुरको निर्मला पन्त बलात्कार हत्याको अनुसन्धान गर्न गठित छानविन समितिबाट राजिनामा दिएका उप(सचिव वीरेन्द्र केसीले राजिनामा फिर्ता गर्दै पुनः अनुसन्धान समिति फर्केका छन् ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबाट राजिनामा फिर्ता लिएको जानकारी केसीले गराएका हुन् ।
समितिले दोषी ठहर गर्न नसक्ने भएको भन्दै राजिनामा गरेका केसीले भर्खरै आफूले छोड्दा अपराधी छुट्ने सम्भावना रहने भन्दै आफू पूनः काममा फर्केको स्पष्ट पारे ।
उपसचिव केसीले बुधबार राजीनामा फिर्ता लिएका हुन् । गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफलपछि उनी छानबिन समितिमै रहेर काम गर्न राजी भएका हुन् । समितिमा रहेर निर्मलाका हत्यारा पत्ता लगाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
तपाईँलाई कहाँबाट धम्की आएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भदौ १५ गते मोटरसाइकलमा आएका एक व्यक्तिले धम्क्याएको दाबी गरे ।
केसीले भने, ‘भदौ १५ गते मोटरसाइकलमा आएका एक मोटो व्यक्तिले एक्लै आउनु भएको रहेछ, यहाँ यसअघि पनि ट्रकले किचेर मान्छेको मृत्यु भएको सुनिएको थियो। त्यहाँ अली खतरै छ भने ।’ त्यसपछि आफ्नो हत्याको योजना बनेको बुझेर समितिबाट अलग भएको उनको प्रष्टिकरण थियो ।
उनले भनेका थिए,‘समय थप्दा एकातिर अभियुक्त थुनामा राख्ने म्याद सकिन्छ अर्कातिर डिएनए परीक्षणको रिपोर्ट पनि जटिल हुन्छ भन्ने मेरो कुरा हो, तर पनि समय थपियो, ‘म्याद थप्दा दुर्घटना हुने र अपराधी उम्कन सक्ने कुरा बारम्बार राखे पनि त्यसको सुनुवाइ नभएपछि समितिबाट अलग भएँ।’