नेपालमा कम्युनिस्ट आन्दोलन सफल : नेता नेपाल
भक्तपुर – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको बताउनुभएको छ ।
नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा उहाँले कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने बताउनुभएको छ ।
नेता नेपालले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा मौका दिएको छ यो मौकाको फाइदा नेपालले उठाउनुपर्छ, नेपालमा कम्युनिस्ट आन्दोलन सफल भयो, कम्युनिष्ट नेतृत्व सरकार पनि सफल हुनुपर्छ ।
कम्युनिष्ट नेतृत्वको सरकारले मुलुक समृद्धि र विकासतिर लम्किरहेको नेकपा नेतृत्वको सरकारले जनतासँग माछा र पानीको तथा नङ र मासुको जस्तो सम्बन्ध राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
दलले जनताको कुरा नबुझे जनता दलको पछि नलाग्ने बताउँदै उहाँले त्यसप्रति युवापुस्ता चनाखो हुनुपर्ने औंल्याउनुभयो । शिक्षा, सिँचाइ, सडक, सीप, सरसफाइ र स्वास्थ्यको क्षेत्रमा विशेष काम गर्नुपर्ने भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने बताउनुभयो ।
नेता नेपालले देशमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्ति गर्नुपर्छ भन्दै यो जिम्मेवारी नेकपाको काँधमा आएको छ भन्नुभयो ।