सवारी साधनमा बम विस्फोटन तीन सुरक्षाकर्मीको मृत्यु
इस्लामाबाद-शुक्रबार पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको विस्फोटनमा परी कम्तीमा तीन सुरक्षाकर्मी मारिएको र अरू दुई जना घाइते भएको समाचारमा जनाइएको छ ।
एउटा सरकारी कार्यालय नजिकै सवारी साधानमा बम विस्फोटन गराइएको अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमणकारीहरूले रिमोट कन्ट्रोलमार्फत विस्फोटन गराएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घाइते सुरक्षाकर्मीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।
प्रहरीले अहिले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको र दोषीको खोजी गरिरहेको जनाएको छ ।
घटनाप्रति प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै घटनाको विस्तृत विवरण आफूलाई दिन प्रदेश सरकारलाई निर्देशन दिनुभएको छ ।