नेताहरुको कचिंगल, कांग्रेसको भविष्य कस्तो होला ?

शशांकलाई देउवाको जवाफ – ‘म थाकेकै छैन’

काठमाडौं –  नेपाली कांग्रेसले संघीय संरचना अनुसार पार्टीको संगठन विस्तार गर्ने र केन्द्रीय सदस्यको संख्या बढाउँदै आठ तहको पार्टी संरचना निर्माण गर्ने गरी विधानको मस्यौदा गर्दैछ ।

प्रारम्भिक मस्यौदामा सभापति, २ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री, एक कोषाध्यक्ष र वरिष्ठ नेतासहित १० पदाधिकारीको प्रस्ताव छ । पौडेल पक्षले उक्त प्रस्तावमा उपसभापतिको संख्या थप १ गर्नुपर्ने र कार्यसमितिको आकार १ सय १ भन्दा बढाउन नहुने मत राखेको छ । केन्द्रको अधिकार तल्ला तहमा जाने तर कार्यसमितिको आकार बढाउने कुरा तर्कसंगत नहुने केही नेताहरुले बताएका छन् ।
केन्द्र, प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्रीय समिति, प्रादेशिक निर्वाचन क्षेत्रीय समिति, गाउँ–नगर समिति, वडा समिति र बुथ समितिसम्म निर्माण गरेर पार्टीलाई बलियो बनाउने रणनीति कांग्रेसले बनाउँदैछ ।

यस्तो संरचनाले लाखौ कार्यकर्तालाई पार्टीका विभिन्न पदमा समेट्न सकिने र विभिन्न तहमा संगठन सुदृढीकरण गर्दा चुनाव मात्र होइन, पार्टीको भविष्यलाई समेत बल पुग्ने कांग्रेसको ठहर छ ।

केन्द्रीय कार्यसम्पादन समिति ४५ र संसदीय समिति २१ सदस्यीय हुने प्रस्ताव छ । उपसमितिमा रहेका पौडेल पक्षीय सदस्यहरूले संसदीय समिति १५ र केन्द्रीय कार्यसम्पादन समिति ३२ सदस्यीय हुनुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरूले प्रदेशमा भाग लिन पाउने कि नपाउने भन्ने विवाद छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू स्वतः प्रदेश अधिवेशनमा पनि सहभागी हुन पाउने कि अलगअलग बनाउने भन्ने विवाद मिलाउन मूल समितिलाई जिम्मा दिइएको छ ।

तीन तहको निर्वाचनमा नराम्रोसँग पराजय भोगेपछि कांग्रेसका नेताहरु हच्किएका छन् । साम्यवादी पार्टीहरुसँग टक्कर लिनैपर्ने उनीहरुको वाध्यता छ भने जनआकांक्षा अनुसार अघि बढ्दै जानुपर्ने ऐतिहासिक दायित्व समेत देखिन्छ । यस्तो अवस्थामा विगतका भुलबाट पाठ सिकेर कांग्रेसले आफूलाई रुपान्तरित गर्न सक्यो भने आउँदा दिनहरुमा सो पार्टी वामपन्थीको बलियो विकल्प हुन सक्छ । तर शीर्ष नेताहरुले आफ्नो कमीकमजोरी नसच्याउने र आफू ठिक अरु वेठिक भन्ने मान्यता रहिरहने हो भने नेपाली कांग्रेस अझै भासिने सम्भावना रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

पार्टीभित्रको गुटबन्दी, नीतिहीनता र असमझदारीले पार्टीलाई कमजोर बनाइरहे पनि नेताहरु कसले ठूलो पद लिने भन्ने कुरामै अल्मलिदा पार्टीकै कन्तविजोग भइरहेको पुराना नेताहरुको धारणा पाइन्छ । गुटको असन्तुष्टि र विरोधकै कारण कांग्रेस केन्द्रीय समितिको वैठक पुनः स्थगित भएको छ । भदौ ९, भदौ २१ हुँदै भदौ २८ गते गर्ने भनिएको वैठक पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेलवीचको विवाद मिल्न नसक्दा स्थगित भएको छ ।

केन्द्रीय कार्यसम्पादन समितिमा २९ जना छन् । सात जना पदाधिकारी वाहेक नौ देखि १० जनाको नाम दिन शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई आग्रह गरेपनि पौडेलले नाम नदिएको र अनुशासन समितिको संयोजक आफ्नो गुटको मानिस हुनुपर्छ भनेर अडान लिएका कारण विवाद भएको नेताहरुले बताएका छन् ।

अनुशासन समिति भनेको सभापतिलाई समेत अनुशासनमा राख्न सक्ने मान्छे हुनुपर्ने केही नेताको तर्क छ । तर देउवा वा पौडेलको मान्छे भएपछि ऊ कसरी तटस्थ हुन्छ भन्ने प्रश्न गर्दै केहीले कुनै पनि गुटमा नखुलेको व्यक्ति त्यसको संयोजक हुनुपर्ने तर्क गरेका छन् । पौडेल पक्षले बलबहादुुर केसीलाई अनुशासन समितिको संयोजक बनाउन खोजेको छ भने देउवा पक्षले भिष्मराज आङ्देम्बेलाई संयोजक बनाउन खोजेका छन् जसले गर्दा पार्टीमा विवाद चर्किएको छ ।

पार्टीभित्र चर्को विवाद भइरहेकै बेला वरिष्ठ नेता पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गरेका छन् । यसले गर्दा विवाद टुंगिन समय लाग्ने देखिएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औँ बिपी जयन्तीका अवसरमा हुन लागेको ‘नेपालको सङ्घीयता कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन नेता पौडेल युरोप प्रस्थान गरेका हुन् ।

नेता पौडेल युरोप बस्दा पार्टीका कार्यकर्ता र विभिन्न जनसम्पर्क समितिका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको र उनी असोज १० गते मात्र स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

उता प्रमुख प्रतिपक्षी दलको हैसियतमा संसदमा कांग्रेसको दरिलो प्रस्तुति हुनुपर्ने त्यो नदेखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । कांग्रेसले केही महिनायता कुनै राजनीतिक एजेन्डा उठाउन सकिरहेको छैन । डा. गोविन्द केसी, प्रधानन्यायाधीश नियुक्ति प्रकरण हुँदै पत्रकार पक्राउ र वलात्कारका घटनामा मात्र कांग्रेस केन्द्रीत भएको देखिएको छ ।

शशांकलाई देउवाको जवाफ – ‘म थाकेकै छैन’
कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको नेतृत्व दावी गर्दै आएका छन् । केही समय विराटनगरमा पुगेर पार्टीको नेतृत्वमा शेखर कोइराला र आफू मध्ये एकले दावी गर्ने बताएका थिए । सभापति देउवाको समेत उपस्थिति रहेको एक कार्यक्रममा शुक्रबार महामन्त्री कोइरालाले घुमाउरो शैलीमा पार्टी नेतृत्व छाड्न पार्टी सभापति देउवालाई आग्रह गरेका छन् । तर, देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गरेका छन् ।

महामन्त्री कोइरालाले आगामी चुनावमा पार्टीलाई विजयी गराउन गुट उपगुट अन्त्य गरेर नेताहरु एक हुनुपर्ने बताए । कर्याङकुरुङ चराको कथा सुनाउँदै महामन्त्री कोइरालाले एकवद्ध भएर १० हजार किलोमिटर उडेर आउँछन् । तर १० हजार किलोमिटर एउटै नेतृत्वमा जाँदैन । नेतृत्व परिवर्तन गरिरहेको हुन्छ । थाक्छ, पछाडि जान्छ भन्दै महामन्त्री कोइरालाले हाँस्दै भने, ‘मैले भन्नुपर्ने कुरा तपाईहरुले बुझिसक्नुभएको छ ।’

उपस्थितहरुले पनि बुझेपनि नबुझेपनि बुझ्नै पर्ने सभापति देउवाले कोइरालाले भन्न खोजेको कुरा बुझेछन् । उनले भने ‘म थाकेकै छैन कहाँ पालोपालो गर्नू’ देउवाले थपे, ‘कर्याङकुरुङ थाकेको होला, म थाकेको छैन ।’

तीन वटै निकायको निर्वाचनमा नराम्रोसँग हारेपछि त्यसबाट पाठ सिकेर कांग्रेसभित्रको गुट, उपगुट अन्त्य गर्दै एकतावद्ध भएर अघि बढ्नु पथ्र्यो । तर पार्टीको निर्वाचनका लागि नेताहरुले गुटउपगुट अन्त्य भन्दा थप्दै गएका छन् । जसले गर्दा नेताहरु बलिया भएपनि पार्टी झन्झन् कमजोर हुँदै गएको छ ।