पूर्वराजाको भ्रमणले राजनीतिमा तरंग
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । झण्डै एक महिना लामो भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्डबाट श्रीलंका र भारत समेत जाने भएका छन् । भ्रमणका क्रममा उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको खबरले राजनीतिक दलका नेताहरु सशंकित भएका छन् ।
पूर्वराजाको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार नै थाइल्याण्ड गएकी थिइन् । हिमानीका निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी, हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र छोराछोरीसहित करिब डेढ दर्जन टोलीका साथ हिमानी अघिल्लै दिन थाइल्याण्ड गएकी थिइन् ।
पूर्वराजा ज्ञानेन्द्रसँग मुमा रत्नराज्य, पत्नी कोमल, निजी सचिव सागर तिमल्सिनासहित शुक्रबार थाइल्याण्ड गएका हुन् । पूर्वराजासँगै साथी प्रभुशमशेर राणा, साला उदयशमशेर राणा र उनकी पत्नी रोशनी राणा पनि थाइल्याण्ड गएका छन् ।