प्रचण्डको विदेश यात्राले नेकपामा हलचल

भावी राजनीतिलाई आफू अनुकुल बनाउने प्रचण्डको प्रयत्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रिया लम्विदै गएको छ ।

प्रमुख जनवर्गीय संगठन र अन्य कमिटीहरुको नेतृत्व र कार्यसमितिलाई लिएर पार्टीभित्र चर्को विवाद छ । नेतृत्व कसले लिने भन्नेमा पहिलेका एमाले र माओवादी नेताहरुबीच अन्तरविरोध देखिएको छ । पार्टीका प्रदेश, जिल्ला, स्थानीयलगायतका कमिटी र जवर्गीय संगठनहरु विद्यार्थी, युवा, महिला, मजदुर आदि विभिन्न संगठनको नेतृत्व लिँदा आफू प्रभावशाली भइने ध्येयका कारण संगठनको नेतृत्व लिन र दिलाउन नेताहरुबीच होडबाजी चलेको छ ।

कसलाई नेतृत्व दिने भन्ने विषयमा निर्णय गर्ने दायित्व पाएको कार्यदलले टुंगो लगाउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सर्वाधिकार सुम्पिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार साँझ झण्डै तीन घण्टा वैठक वसेपनि कसरी एकीकरण गर्ने र वर्गीय संगठनको नेतृत्व कसकसलाई दिने भन्ने कुरा मिल्न सकेन । त्यसपछि यसको अन्तिम छिनोफानो ओली र दाहालले गर्ने भन्दै वैठक टुंगिएको थियो ।

विवाद टुंग्याउने जिम्मेवारी पाएका अध्यक्ष पुष्पकमल दाहाल शनिबार चीन प्रस्थान गरेका छन् । अध्यक्ष दाहालले आफू फर्केर आउने बित्तिकै एकतामा बाँकी रहेका विषयलाई निष्कर्षमा पु¥याउने बताएका छन् । दशैँअगावै एकताका सबै विषयलाई निष्कर्षमा पु¥याइने पनि उनले बताएका छन् ।

यसैबीच नेकपाको सचिवालय वैठकमा वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अरुलाई पेल्न खोजेको आरोप लगाएका छन् । कार्यदलको प्रतिवेदनमाथि छलफल हुने क्रममा बोल्दै यसअघि बनाइएका मापदण्ड भत्काएर पार्टी एकताका नाममा छुट्टै संगठन गर्न खोजिएको नेपालको आरोप छ । जिल्ला कमिटीको नेतृत्व चयन र जनसंगठनमा पनि पेलेरै आफ्ना मान्छे भर्ना गर्न खोज्ने प्रवृत्ति देखिएको भन्दै नेपाल रुष्ट भएका छन् ।

प्रचण्डको विदेश यात्रा

भारतबाट फर्किएको हप्ता दिन नवित्दै दाहाल हिजो चीन भ्रमणमा गएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ४ दिनका लागि चीन गएका दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तारका लागि आफू चीन जान लागेको प्रतिक्रिया दिएका छन् ।

दाहालको विदेश यात्रालाई लिएर नेकपामा मात्र होइन राजनीतिकवृत्तमै अनेक टिकाटिप्पणी भइरहेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई घुमाउरो शैलीमा सन्तुलित राख्न दाहालको भ्रमण भएको र गराइएको हुन सक्ने विश्लेषकको तर्क छ ।


भारतमा रहँदा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिव डेढ घण्टा वार्ता गरेको र त्यहाँका विदेशमन्त्री, गृहमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै दिल्लीमा आयोजित गोष्ठीमा समेत भाग लिएका थिए ।
नेपालको संविधानलाई हृदयदेखि नै समर्थन नगरेको भारतले अहिले पनि आफु अनुकूलको सरकार सञ्चालन गर्न र नेपालमा आफ्नो पुरानो प्रभाव कायमै राख्न चाहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरुसँगको सम्वन्धलाई उनको भारतीय जनता पार्टीको फाइदाका लागि उपयोग गर्न खोजेको राजनीतिक विश्लेषकहरुको तर्क छ । मोदीको शासनकालमा छिमेकीहरु चिढिएको भन्दै भारतीय कांग्रेस आईले आरोप लगाउँदै आएको छ भने छिमेकका नेताहरु पनि मेरै वरिपरी घुम्छन् भन्ने सन्देश दिन मोदीले दाहालसँग निकटता देखाएका हुन् भनी विश्लेषण भइरहेको छ ।

सन् २०१९ मा भारतमा लोकसभाको चुनाव हुँदैछ र त्यसमा छिमेकीसँगको सम्वन्धलाई सचेत मतदाताहरुले गम्भीर रुपमा लिएका छन् । गत साता बिहीबार, शुक्रवार र शनिबार दिल्लीमा व्यस्त रहेका पुष्पकमल दाहालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग किन भेट गरे भन्ने कुरा अझै पनि स्पष्ट खुल्न सकेको छैन ।

नेपालमा चीनको प्रभाव बढ्दै गएको भारतको बुझाइ छ भने काठमाडौंका शासक र प्रतिपक्षी दुवैलाई आफ्नो प्रभावमा पार्न दिल्लीको संस्थापन पक्षले कैयन् वर्षदेखि प्रयास गर्दै आएको देखिन्छ । डा. बाबुराम भट्टराईले भने झै नेपालको संविधानमा भारतले धर्मनिरपेक्षता जस्ता शब्द नराख्न दवाव दिएको र भारतलाई सहज हुने किसिमका केही निर्णय गर्न सरकारलाई मनोवैज्ञानिक प्रभावमा पार्न खोजेको छ ।
प्रधानमन्त्री ओलीले सत्ता सम्हालेलगत्तै दुबै छिमेकी देशको भ्रमण गरेका थिए । ओलीको भ्रमणबाट आर्जन गरेको ‘विश्वास’ लाई ढल्न नदिन आफूले भारत भ्रमण गरेको र चीन जान लागेको दावी गरेका छन् ।

विमस्टेक सदस्य राष्ट्रबीच सैन्य अभ्यासमा नेपाल सहभागी नहुनुलाई मोदी र ओलीवीचको सम्बन्ध विश्वासिलो नबनिसकेको संकेतका रुपमा भारतीय पक्षले टिप्पणी गरिरहेका छन् । भारतीय विश्लेषकहरुले नेपाल सरकार अझै पनि चीनतिरै ढल्किएको आरोप लगाइरहेको छ भन्ने तर्क गरिरहेका बेला मोदी र प्रचण्डवीच वान टु वान छलफलमा के के कुराकानी भयो भन्ने कुरा बाहिर नआए पनि प्रचण्डले आफू भारतबाट उत्साहित भएर फर्किएको आफू निकटस्थ नेताहरुलाई बताएका छन् । यसले गर्दा उनको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

भारत भ्रमणका बेला पुष्पकमल दाहालले त्यहाँका नेताहरुसँग औपचारिक कुराकानीमा नेपालको हित देखिने केही विषयमा छलफल गरेको बताइएको छ ।
चीन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतासँग आपसी हित र द्विपक्षीय चासोका विषयमा छलफल गर्ने बताएका छन् । तर ओली सरकारसँग भारत र चीन दुबै देश सशंकित भएको कूटनीतिज्ञ तथा राजनीतिज्ञहरुले विश्लेषण गरिरहेका बेला दाहालको भारत र चीन यात्रालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

उनको भ्रमण नेपाल–भारत र नेपाल–चीनको औपचारिक पक्षमा मात्र केन्द्रित नभएर भावी राजनीतिलाई आफू अनुकुलको बाटोमा ल्याउने प्रयत्नको एउटा कडी हुन सक्ने देखिएपनि नेकपाभित्र पूर्वएमालेवृत्त सशंकित बनेको देखिएको छ ।