बगनासकाली गाउँपालिकामा पुरानालाई विदाई, नयाँलाई स्वागत

पाल्पा÷ बगनासकालीका गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत र निवर्तमान अधिकृतको विदाई गरिएको छ । निवर्तमान प्रमुख प्रशासकीय अधिकृतका रुपमा रहेका रामचन्द्र अर्यालको सरुवा भएको हो ।
१७ महिना १९ दिन गाउँपालिकामा कार्यरत रहेका अधिकृत अर्यालको पोखरा महानगरपालिकामा सरुवा भएको छ । गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा सुन्दर श्रेष्ठ आएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका स्थायी घर भएका श्रेष्ठ बाँकेको खजुरी गाउँपालिकाबाट सरुवा भएर आएका हुन् । गाउँपालिकाले विहिबार एक कार्यक्रमका बीच प्रशासकीय अधिकृतहरुको स्वागत र विदाई गरेको छ । विदाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले प्रशासकीय अधिकृत अर्यालले गाउँपालिकाको समृद्वि र विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । गाउँपालिकाका जनताहरुको लोकप्रिय बनेका अर्यालले सधैँ जनताको हितमा रहेर काम गरेकोमा गाउँपालिकाका अध्यक्ष बस्यालले धन्यवाद दिए । उनले अर्यालको योगदान बगनासकालीका जनताहरुले कहिल्यै नभुल्ने बताए । विदाई भएका अर्यालले आफुले सधैँभरि जनताको हितमा काम गरेकाले गाउँपालिकाका जनताहरुको अपार सहयोग र साथ पाएको बताए ।
त्यस्तै नयाँ प्रशासकीय प्रमुखका रुपमा आएका श्रेष्ठले जनताको हितमा काम गर्ने बताए । उनले जनप्रतिनिधिहरुको सहकार्यमा काम गर्ने प्रतिवद्वता समेत जनाए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदि, वडा नं. ९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सेना, वडा नं. ३ का वडा अध्यक्ष टिका थापा, कार्यपालिका सदस्य शिला नेपाली, न्यायिक समिति सदस्य कुलप्रसाद ढुंगाना, दिपक ढुंगाना लगायतले विदाई भएका अर्यालको कामको प्रशंसा गर्दै धन्याद दिए । साथै उनीहरुले नयाँ अधिकृत श्रेष्ठलाई गाउँपालिकाको विकास र समृद्विमा काम गर्न आग्रह गरे ।