मन्त्री ज्ञवाली र बिष्टलाई चन्द्र भण्डारीको चुनौती
गुल्मी । नेपाल प्रेस युनियनको सातौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्न गुल्मी पुगेका कांग्रेस नेता चन्द्र भण्डारी संघीय सरकारका दुई जना मन्त्री विरुद्ध कडा रुपमा उत्रिए । उनले आफु चार बर्ष सम्म सांसद रहँदा जतिको विकास रकम आगामी पाँच बर्ष भित्रमा हालका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पारेर देखाउन चुनौती दिएका हुन् ।
विपक्षी दल नेकपाका कार्यकर्ताहरु तर्फ लक्षित गर्दै उनले भने–‘भन्नुस् तपाईहरुका मन्त्रीहरुलाई, मैले सांसद छँदा पारेको रकम उहाँहरुले आगामी पाँच बर्ष भित्रमा पारेर देखाउनुस्, त्यति गर्न सके उहाँहरुलाई मैले नै आजीवन सांसद घोषणा गर्ने छु र उहाँहरुलाई पूmलमाला लिएर रिडी सम्म स्वागत सत्कार गर्न जानेछु ।’
उनले थपे–‘कहिले मदन भण्डारी लोक मार्ग भनेका छन्, कहिले रेसुङ्गा विमानस्थल भनेर हल्ला गरेका छन्, कहिले रेसुङ्गा बहुमुखी क्याम्पस आंगिक बनाऔं भनेर प्रचार गरेका छन् । आखिरमा केहि गरेकै छैनन् । एउटै सडक ४० पटक सम्म उद्घाटन गर्न पुगेका छन् । लाजै मर्नु यसै जिल्लाका दुई दुई जना मन्त्री भएर एक पैसा पार्न सकेका छैनन् ।’
उनले अहिले नै रेसुङ्गा क्याम्पस आंगिक नबनाऔं भनेर उनै मन्त्रीहरुलाई भन्दा पनि नमानेको खुलासा गरे । मन्त्री बिष्टका स्वकिय सचिव गणेश श्रीपालीलाई फोन नै गरेर भनेको उनले स्पष्ट पारे । सरकारले आंगिक बनाउने पैसा नदिएर क्याम्पस अलपत्र पर्ने उनको भनाइ छ ।
उनले जिल्लामा आफुले पारेका पुलका योजनाहरु, खानेपानी, मोटरबाटो योजना लगायतका विकास निर्माण आफ्नो फेशबुकमा गएर हेर्न पत्रकारहरुलाई पनि चुनौती दिदै भने–‘ति कुराहरु किन लेख्नु हुन्न ? खाली हल्लाको पछि मात्रै लाग्ने!’
नेता भण्डारीले अबको पाँच बर्र्ष सम्म सरकारको नेतृत्व केपी ओलीले नै गर्नु पर्ने कांग्रेसको अडान रहेको बताए । स्थायित्व र समृद्धिको कुरा गर्ने, फेरी सरकार फेर्ने चर्चा गर्ने ? त्यसरी हुन्छ स्थायित्व र समृद्धि ? त्यसका लागि सरकार ओलीले नै पाँच बर्ष सम्म चलाउनु पर्छ’–उनले भने ।
उनले कम्युनिष्ट सरकारलाई बाँदरको संज्ञा समेत दिए । भाषणको पुरै समय कम्युनिष्ट र उनिहरुको सरकारलाई गाली गलौजमा खर्चिएका नेता भण्डारीले देशमा बढिरहेको हत्या हिंसा, महङ्गी र कर बृद्धि विरुद्ध पत्रकारहरुले कलम चलाउन आग्रह गरे । ’
सो पार्टीका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले भाषणको पुरै समय पत्रकारहरुलाई गाली गलौज गर्नमै खर्चिएका थिए । स्थानिय तहले छुट्टाएको बिलो खान पल्केर पत्रकारहरुले उनिहरुले गरेको अनियमितता र भ्रष्टाचारको कुरा नलेखेको आरोप समेत लगाए ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय सदस्य प्रेम सुनार, प्रेस चौतारीका जिल्ला अध्यक्ष शिवलाल सुवेदी, पत्रकार महासंघ गुल्मीबाट अध्यक्ष नवराज भुसाल, प्रेस युनियनका सल्लाहकार श्रीप्रसाद भलामी, पुर्वअध्यक्ष महेन्द्र भण्डारी, प्रेस युनियनका केन्द्रिय निर्वाचन प्रतिनिधी माधव अर्याल, नेपाली कांग्रेस गुल्मीका उपसभापति विष्णु बलाल, सचिव खिलध्वज पन्थीले पनि शुभकामना मन्तव्य राखेका थिए । प्रेस युनियन गुलमीको अध्यक्षमा रेशम कुँबर निर्वाचित भएका छन् ।