शिक्षक सेवा आयोगको परीक्षा असोज ११ गते
काठमाडौँ- शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ ।यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा हुँदै छ।
आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई समेत आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एक दिन अगाडि मात्र पुग्ने छ ।
परीक्षामा ३४ जिल्लामा एक हजार २३२ परीक्षाकेन्द्र स्थापना गरिएको छ । परीक्षा सञ्चालन गर्नका लागि एक हजार २३२ केन्द्राध्यक्ष र दुई हजार ४६४ सहायक केन्द्राध्यक्षसहित करीब १४ हजार कर्मचारी आवश्यक पर्ने उहाँले बताउनुभयो ।
परीक्षामा १२ हजार ७३९ पदका लागि करीब दुई लाख ७५ हजार परीक्षार्थी रहेका छन् । प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।