वामदेवलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा बर्तमान सरकारको जनमतको परीक्षण हुने
नेपालगञ्ज- नेपाल प्रेस यूनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले नेकपाले कुनै सिट खाली गराएर नेता वामदेव गौतम लाई प्रतिनिधिसभाको उम्मेदवार बनाएमा बर्तमान सरकारको जनमतको परीक्षण हुने बताए ।
प्रबक्ता शर्माले नेकपाका नेता वामदेव गौतम जुन निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गरेपनि प्रतिपक्ष पार्टी विजयी हुने दावी गरेका छन् ।
गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराएमा आफुहरुलाई निर्वाचनको तयारी गर्न सहज हुने शर्माले बताए ।
उनले गठन भएको ६ महिना मात्रै भएकाले बर्तमान सरकारको कामको आलोचना गर्ने समय भई नसकेको बताए । प्रबक्ता शर्माले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भएपनि शान्ति सुरक्षाको सन्दर्भमा भने सरकार कमजोर देखिएको टिप्पणी गरे ।
दुई तिहाईको साथले प्रधानमन्त्री बलियो नहुने भन्दै कार्यक्षमताले मात्रै प्रधानमन्त्रीलाई बलियो बनाउने उनको भनाई छ । प्रेस यूनियन बाँकेका उपाध्यक्ष कृपाराम वाडियाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस बाँकेका सभापति किरण कोइराला, सचिव तप्त पौडेल, प्रदेश सांसद सुरेन्द्र हमाल, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट लगायत उपस्थित थिए ।