सूचना अधिकारीहरू अल्छी नहुनोस् : प्रजिअ बस्नेत
चितवन/ यहाँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफ्नो कार्यालयले गर्नुपर्ने काम, कर्तव्य र अधिकारलाई सेवाग्राहीमैत्री बनाउन निर्देशात्मक सुझाव दिनुभएको छ । जिल्लाका सबै सरकारी कार्यालयका सूचना अधिकारीहरूको नियमित बैठकमा उक्त सुझाव दिनुभएको हो ।
प्रजिअ बस्नेतले आफ्नो कार्यालयभित्रको अनुशासन र सदाचारको पालना भए नभएको मर्यादा कायम रहे नरहेको, काम छिटो छरितो र सेवाग्राही मैत्री भए नभएको कर्मचारी आचरणमा रहे नरहेको जस्ता कुरा पनि यस्तो महत्वपूर्ण बैठकमा आउनुपर्ने बताउनु भयो । सेवाग्राहीको गुनासाको सुनुवाई भए नभएको, भएको भए कसरी भएको, के के भएको भन्ने कुरा पनि यस्ता बैठकमा आउनु पर्छ उहाँले भन्नुभयो ।
केही सूचना अधिकारीहरूबाट आफ्नो कार्यालयको सामान्य जानकारी आए पनि अधिकांशबाट कुनै जानकारी नआएकोमा व्यंग्य गर्दै अगाडि भन्नुभयो,– साना ठूला जेजस्ता भए पनि हरेक महिना केही न केही सुधारका सूचना ल्याएर यहाँ सबैलाई सुनाउनु पर्नेमा त्यस्तो केही सुन्न पाइएन, अल्छी नगरिकन सूचनाको हक कार्यान्वयन हुने बाटोमा लाग्नुस् । केही रचनात्मक र सिर्जनात्मक कामहरू गर्नुस् । आफ्नो कार्यालयका कामको अभिलेख राख्ने, सेवा वितरणका काममा समन्वय गर्ने, गुनासालाई व्यवस्थापन गरी फछ्र्यौट गर्ने अनि भईरहेका र सम्पन्न कार्यको प्रतिवेदन तयार गर्नुपर्छ । सूचना अधिकारीले आफ्नो कार्यालयले गरेका कामलाई मिडियामार्फत ‘एक्सपोज’ गर्नुपर्छ । भएका र हुन लागेका काम मिडियामा नआई जनताले कसरी थाहा पाउने ? प्रजिअ बस्नेतले बडो शालीन ढङ्गले यी सुझाव राखेपछि केही सूचना अधिकारीहरूले आपसमा आफ्नो आँखा खुलेको प्रतिक्रिया दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार जिल्ला प्रशासन कार्यालयको संयोजन र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विगत केही महिनादेखि हरेक महिनाको ४ गते (सार्वजनिक विदाबाहेक) जिल्लाभरिका सरकारी कार्यालयका सूचना अधिकारीहरूको बैठक बस्ने गरेको छ । सो बैठकमा आ–आफ्नो कार्यालयबाट के कति प्रगतिका काम भए र सूचनाको हकको पनि कार्यान्वयन भयो भन्ने कुरा सो बैठकमा सहभागी सूचना अधिकारीले जानकारी गराउने प्रावधान छ ।