१० बर्षीया श्रीयाको बालात्कार पछि हत्या पुष्टिः हत्यारा पक्राउ
पोखरा– श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन् ।
निधारभरि चौटैचोट । घाँटीमा नीलडाम । धारिलो र चुच्चो वस्तुको प्रहारले क्षतिविक्षत शरीर । छेवैमा रगत लतपतिएका तीनवटा ढुंगा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको उल्लेख गरेको छ । मृत्युको कारण टाउकोमा लागेको चोट भएको रिपोर्टमा छ।
सुनारका बाबुले दुई वर्षअघि अर्की बिहे गरेपछि भैरहवातिर लागेका थिए । आमा बेलकुमारीलाई रोगले च्याप्यो । बेलकुमारीका पिता लीलबहादुर सुनारले छोरी, तीन नातिनी र एक नातिलाई आफ्नैमा बोलाए।
जम्मा २० मिनेटको दूरी छ दुई घरको । ज्यामी काम गरेर सकीनसकी उनले छोरीको उपचार गराए । नातिनातिना पढाए । केही बिसेक भएपछि गत बुधबार मात्रै बेलकुमारी घर फर्केकी थिइन्।
श्रीया घरि घर, घरि मामाघर गरिरहन्थिन् । उनी मामाघरमै बस्ने भइन् । गाउँकै लीला आधारभूत विद्यालयमा उनी ३ कक्षामा पढ्थिन् ।
हत्यारा पक्राउ
यससँगै कास्की प्रहरी हत्यारा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की हत्यामा संलग्नको पहिचान गरी पक्राउ गरिएको पुष्टी गरेको छ ।
घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले घटना सार्वजनिक भएको १६ घण्टामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार घटनापछि सुरुमा शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो ।
तीन जनामा बढी शंका लागेकोमा त्यस मध्य २७ वर्षीय कुशुम पौडेलले आफ्नो अपराध प्रहरी समक्ष स्वीकार गरेका हुन् ।