कोपनहेगनमा बस्ने नेपालीहरुले गरे नयाँ प्रविधिको खेती अवलोकनः नेपालमा पनि प्रयोग गर्न सकिने
कोपनहेगन,डेनमार्क- आफु बस्ने देशमा के कस्तो प्रबिधिहरु छन र नेपालमा लैजान सकिन्छ कि भन्ने जानकारी लिन कोपनहेगन स्थित नेपालिहरुले यहि सेप्टेम्बर 25 मा डेनमार्कमा नया प्रबिधी अनुसारको गोलभेडा खेती Green house अवलोकन गरेका थिए ।
उक्त कार्यक्रमको संयोजन एन आर एन कृषि प्रबन्धक समिती युरोप संयोजक मोहनराज मिश्रले गरेका हुन्।
उक्त सहभागितामा महामहिम राजदुत श्री युवनाथ लम्साल, नियोग उपप्रमुख श्री डोरनाथ अर्याल, ICC member कुलराज शर्मा,अध्यक्ष यमलाल सुबेदी एन सि सि डेनमार्क,अध्यक्ष इन्दिरा तिवारी Creative Nepalese Women society र अन्य सदस्य समेत गरी १६ जनाको टोली थियो ।
अवलोकन गर्ने क्रममा फार्मका मेनेजर Anders ले फार्म भित्र भएका गतिविधि जानकारी गराए । फार्ममा बिभिन्न जातका, बिभिन्न रङका साना ठुला गोलभेडाको साथै केहि मात्रामा काक्रा, खुर्सानी, भेडे खुर्सानी र भेन्टा पनि रोपेको पाइयो । उनले विरुवाको हेरचाह गर्ने, तापक्रम, पानी अनि विरुवामा लाग्ने रोग र त्यसको रोगथामको बारेमा पनि छोटो जानकारी गराए ।
करिब ४ हेक्टर जमिनलाई ग्लास हाउस भित्र १-१ हेक्टरका ४ वटा क्षेत्र बनाइएको रहेछ ।सिजनको बेलामा करिब ४५-५० जनाले काम गरेर दिनमा कमसेकम २०-२२ टन गोलभेडा बजार पठाउने गरेको पाइयो ।
गोलभेडा टिपेपछि लिफ्ट ट्रकबाट प्याकिङ गर्ने ठाउँमा लगेर मेसिनबाट ग्रेडिङ गरि बिभिन्न तौल का प्याकेट बनाएर बजार पठाउने गरिदो रहेछ ।
नरिवलको जटालाई बक्समा राखेर त्यसमाथी बिरुवा राखी मलखाद दिइदो रहेछ । जनवरिमा लगाएको बिरुवा नोभेम्बर वा डिसेम्वरमा निकालेर फेरी जनवरि मै नयाँ बिरुवा लगाउने गरेको पाइयो ।
एउटा बिरुवा करिब १२-१३ मिटर लामो हुने र हप्ताको ३-४पटक गोलभेडा टिप्ने पनि जानकारी पाइयो । लाईन पारेर लागाइएका बोटहरुमा माथी हरियो र तल रातै फलेका गोलभेडा हेर्दा नै लोभलाग्दा थिए । सहभागिको बिभिन्न प्रश्नको उत्तर दिदै प्रबिधी र यसको सही प्रयोग मह्त्वपूर्ण भएको जानकारी गराए ।