दशैंका यात्रु तनावमा
काठमाडौं- सरकारले १० प्रतिशत गाडी भाडा बढाउन सहमति गरेसँगै यातायात व्यवसायीले ९ असोजदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । तर, तीन दिनमै सबै टिकट बुक भइसकेको भन्दै बसपार्क पुगेकाहरुलाई फर्काउन थालिएको छ ।
विद्यार्थीहरु घटस्थापनापछि फर्कन थाल्छन् भने कामकाजीले फुलपातिपछि मात्र विदा पाउँछन् । तर, फुलपातिपछि कुनै पनि दिनको टिकट पाउने अवस्था छैन ।
रुकुम खलंगाका शुकलाल स्याङ्ग्बोको समस्या पनि उस्तै छ । भर्खरी सुत्केरी भएकी श्रीमती, शिशु र बहिनी लिएर दशैंमा घर जानु छ उनलाई । तर टिकट पाएका छैनन् ।‘अस्ति टिकट बुकिङ खुल्यो भन्ने थाहा पाएँ, चाँडो जाँदा पाइन्छ कि भनेर आएको तर, काउन्टरबाला सबै बुकिङ भइसक्यो भन्छन्’, उनले गुनासो गरे ।
पाल्पाका गणेश पाण्डे फुलपातीको दिन घर जाने निधो गरेर टिकट बुकिङ गर्न गोगंबु बसपार्क पुगे । बसपार्क क्षेत्रमा रहेका काउन्टरहरु एकएक चहार्दा पनि उनले एउटै जवाफ पाए, ‘टिकट त सकिसक्यो ।’
यसपाली दशैंको टीका कात्तिक २ गते परेको छ । रोजगारी, पढाइ र अन्य कारणले काठमाडौं बस्दै आएका लाखौं मानिस दशैं मान्न घर फर्कछन् ।