निर्मलाका बाबुको नक्कली औंठाछाप हानिएको भेटियो
काठमाडौं- कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनाको अनुसन्धान प्रतिवेदनबारे संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा अन्तरगतको सो समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले हत्यापछि प्रहरीले उठाएको मुचुल्कामा निर्मलाका बाबुको नक्कली औंठाछाप भेटिएको जानकारी दिएका हुन् ।
गत साउन १० गते घटना भएको पर्सीपल्टमात्रै निर्मलाका बाबु यज्ञराज पन्त भारतबाट फर्केकामा ११ गते उठाइएको मुचुल्कामा यज्ञराजको औंठाछाप उल्लेख गरिएको उनले जानकारी दिए ।
त्यस्तै, निर्मलाको लुगा पानीले पखालेकोमात्रै नभइ उनका लुगाहरु जलाउने कामसमेत भएको पनि मन्त्री थापाले जानकारी दिए ।
उनले सो घटना सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिनुको कारण गृह मन्त्रालयसम्म कुरा गर्न नपाएर भएको बताए ।
बैठकमा समितिका सदस्यहरुले हत्यारा कहिले पत्ता लाग्छ रु भन्दै गृहमन्त्री थापालाई प्रश्न गर्दा उनले ‘गृहमन्त्री र प्रहरी ज्योतिषी होइन’ भन्ने जवाफ दिएका थिए ।
घटनालाई राजनीतिक रङ दिन नहुनेमा पनि गृहमन्त्री थापाले जोड दिए ।