मेलम्चीको पानी ६० दिनभित्र काठमाडौंमा, सुरुमा १७ करोड लिटर, त्यसपछि ३४ करोड लिटर

काठमाडौँ- काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन्।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए।

कँडेलका अनुसार करीब २५ हजार ८०० मिटरमध्ये १५ हजार ३८७ मिटर सुरुङ ९टनेल० निर्माण सम्पन्न भएको छ। त्यसमध्ये १० हजार ५३३ मिटरको अन्तिम चरणको काम भइरहेको छ। दैनिकरुपमा २०० देखि २५० मिटरको दरले टनेलको काम भइरहेको छ। पानीको सुरुङको काम ३० देखि ४० दिनमा पूरा हुनेछ। काठमाडौँवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके। खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि शुरु भएको थियो। काम सकिएसँगै उपत्यकावासीले सहजरुपमा खानेपानी पाउने छन्।

दशैँभित्र पानी उपत्यकामा आउने तयारीका साथ काम भएको भए पनि अन्य प्राविधिक कारणले गर्दा तिहारपछि मात्र पानी आउने तयारीका साथ काम भइरहेको बताइएको छ।

“मेलम्चीको पानी सुन्दरीजलमा रहेका पानी ट्याङ्कीमा ल्याएर खन्याइन्छ, त्यहाँ अहिले साढे आठ करोड लिटर पानी अटाउँछ, ट्याङ्की निर्माण हुँदैछ”, आयोजनका प्रमुख कँडेलले भने, “पहिलो वर्ष १७ करोड लिटर र तीन वर्षपछि ३४ करोड लिटर पानी उपत्यकामा आउँछ।”

सुन्दरीजलको ट्याङ्कीबाट अन्य स्थानमा रहेका पुरानै ट्याङ्कीमा पानी सङ्कलन गरी घरघरमा वितरण गरिन्छ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानीका विषयको छलफलमा समितिका सांसदलाई आयोजना प्रमुखले बताएका हुन्।