उड्ने कार
काठमाडौँ । १२ वर्षको निरन्तर प्रयासपछि वैज्ञानिक तथा प्राविधिकहरुले उड्ने कार बनाएका छन् । विश्वकै पहिलो उड्ने कारको विक्री सुरु गर्ने तर्खर भइरहेको बताइएको छ । अर्को महिनादेखि यसको अग्रिम–बुकिङ गर्ने र अर्को वर्षदेखि यो कार घर लान पाउने अमेरिकाको कार निर्माता कम्पनीले जनाएको छ ।
एक मिनेटभन्दा कम समयमा स्वचालित रुपमा उडान भर्न सक्ने क्षमताको यो कारको गति २०० किमी प्रतिघन्टाभन्दा धेरै रहेको बताइएको छ । ‘हाइब्रिड–इलेक्ट्रिक’ कारको निर्माण भल्भोको भगिनी कम्पनी टेर्राफुगियाले गरेको हो । सो कम्पनीले हलुका स्पोर्ट बाहनहरु उत्पादन गर्दै आएको छ । यो कारको मूल्य नतोकिए पनि अनुमानित लागत २ लाख ७९ हजार अमेरिकी डलर रहेको जनाइएको छ ।
सो उडन् कारमा सिट थप्ने, लगेज स्टोरेज बढाउने, सिट बेल्ट र एयरब्याग्समा सुधार गर्ने काम भईरहेको बताइएको छ । यसमा जडान गरिएको ‘रियर–भ्यु’ क्यामेरा र एउटा नयाँ पारासुट प्रणालीले कारलाई उन्नत बनाई दिएको छ । आपतकालिन अवस्थामा पारासुटले यात्रुलाई सुरक्षित अवतरणका लागि सहयोग गर्ने बताइएको छ । यो कार अधिकतम् १० हजार फिट उचाईमा उड्न सक्ने बताइएको छ ।
यात्रा शुरु गर्नुअघि कारमा जडित् कम्प्युटरमा यात्रुले आफ्नो गन्तव्य टाइप गरेपछि आफैं गन्तव्यमा पुग्ने बताइएको छ । रनवे नचाहिने, चालकको पनि आवश्यकता नपर्ने भएकाले व्यापारिक र आकस्मिक प्रयोजनमा यो कोशेढुंगा सावित हुने विश्वास निर्माण कम्पनी र वैधानिक तथा प्राविधिकहरुले लिएको बताइएको छ ।