टिपरको गति नियन्त्रण गर्न टाईम कार्ड
पाल्पा / टिपरको अत्याधिक गतिका कारण जिल्लामा दिनहुँ दुर्घटना बढ्दै गएपछि दुर्घटना न्यूनिकरणका लागि टिपर टाईम कार्ड लागु गरिएको छ । टिपरको अत्याधिक गति नियन्त्रणका लागि जिल्लामा टिपर टाईम कार्ड लागू भएको हो । राजमार्ग क्षेत्रमा दुर्घटना न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले ट्राफिक प्रहरीको सक्रियतामा तानसेन तम्घास सडक खण्डको हार्थाेकदेखि तानसेन बुटवल खण्डको दोभान प्रहरी चौकीसम्म टिपर टाईम कार्ड लागू गरिएको छ ।
जिल्लाका विभिन्न सडक तथा राजमार्गहरुमा दैनिक रुपमा एक हजार दुई सय टिपरले चुनढुङ्गा ओसार पसार गर्दै आएका छन् । रैनादेवी छहरा गाउँपालिका वडा १ सिद्धेश्वर क्षेत्रमा सञ्चालनमा रहेको सर्वाेत्तम सिमेन्टको खानीबाट ढुवानी गर्दै आएका टिपरहरुका लागि पहिलो चरणमा टिपर टाईम कार्ड लागू गरिएको छ ।
हार्थाेकबाट दोभान सम्म ५० किलोमिटर दुरी २ घण्टा ३० मिनेटको समयमा पुग्ने गरी टाईम कार्डको व्यवस्था गरिएको छ । हार्थाेकबाट टाईम कार्ड लिएका टिपरहरुले दोभान प्रहरी चौकीमा पुगेको समय लेखाउनु पर्ने छ । यही तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियम अनुसारको कारवाहीमा पर्ने छन् । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेल, ट्राफिक प्रहरी प्रमुख डम्वर गिरी लगायतले लु २ ख २२६६ नम्वरको टिपरका चालक रामकुमार लामालाई टाईम कार्ड हस्तान्तरण गरी अभियानको शुरुवात गरेका हुन् ।
प्रत्येक टिपर चालकहरुलाई एक÷ एक वटा टाईम कार्ड पुस्तिका वितरण गरिएको छ । टिपर कार्डलाई प्रभावकारी रुपमा कार्यान्वयनका लागि जिल्ला प्रशासनको महत्वपूर्ण भूमिका रहने प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताए । हार्थाेक देखी दोभान सम्मको ५० किलोमिटर दुरी टिपर चालक सँगै बसेर यात्रा गरी २ घण्टा ३० मिनेट समय तय गरिएको प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताए । टिपर सँगै अन्य सार्वजनिक यातायातमा पनि टाइम कार्ड लागु गरिने प्रहरी उपरिक्षक पोखरेलले बताए । टाईम कार्डले तीव्र गतीलाई रोक्ने, दुर्घटनामा कमी ल्याउने, यात्रुहरुलाई सडकमा सहज रुपमा यात्रा गर्न सजिलो बनाउने, अस्वस्थ प्रतिष्पर्धा हटाउने, टिपर व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने, जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्वर गिरीले बताए । टिपर व्यवसायी तथा चालकहरुले पनि टाइम कार्ड अनुसार सवारी साधन सञ्चालन गर्ने बताएका छन् ।