नेकपामा ओली–नेपालको हुङ्कार

नेता/कार्यकर्ता बन्दैछन् दिग्दार

काठमाडौं÷ नेपाल कम्युनिष्ट पार्टीमा प्रदेश कमिटीको नेतृत्व चयन बिषयलाई लिएर रडाको मच्चिएको छ । नेतृत्वको छनौटका लागि गठित कार्यदलले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै आएको पक्षले रडाको मच्चाएको हो ।
पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नेपाल अफ्रिकाको घानामा रहेका बेला केही दिनअघि सचिवालय बैठक बोलाएर प्रदेश कमिटी नेतृत्व छिनोफानो गरेका थिए । विभिन्न कारणले लामो समयदेखि अल्झिदै आएको प्रदेश नेतृत्व वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश देशमा नभएको मौकामा टुंग्याइएको थियो । यस्तो बेला घोषणा गरिएको प्रदेश नेतृत्वमा अध्यक्ष ओलीले आफ्ना १० जनालाई घुसाए । अर्का अध्यक्ष दाहालका ७ जना परे । वरिष्ठ नेता नेपाल पक्षधर ३ जना मात्र राखियो ।
प्रदेश नेतृत्वमा गृहमन्त्री रामबहादुर थापा बादललाई चिठ्ठा प¥यो । बादलले प्रदेश कमिटीमा आफ्ना ५ जना पारे । जबकि वामदेव गौतमका १ जना र नारायणकाजी श्रेष्ठका १ जना प्रदेशमा आएका छन् । अर्थात् बादल प्रदेश कमिटीमा यसरी हाबी भए कि, नेता नेपाल, वामदेव गौतम र प्रकाश जोड्दा बराबरको उनी एक्लै छ । नेपालसहित ३ जनालाई प्रभाव पार्न सके अध्यक्ष प्रचण्डलाई हायलकायल पारिदिन सक्छन् । अर्थात् प्रचण्डको ७ हुँदा उनको ८ हुन्छ ।
अनि अध्यक्ष ओलीले नै पेल्न खोजे भने उनीसँग पुग्ने मत पनि बन्न सक्छ वामदेव र प्रकाशको २ मत भयो भने । अर्थात् प्रचण्डसँग रस्साकस्सी गर्न नेपाललाई साथ दिए पुग्छ, ओली बराबरको मत उनी वामदेव, प्रकाश र नेपालबाटै जुटाउन सक्छन् । अध्यक्ष प्रचण्डले ओलीसँग असन्तुष्टि जनाएका बेला थापाले साथ दिए ओलीको १० सदस्यमा थापा र प्रचण्डको मात्रै १२ मत हुन्छ । त्यतिखेर ओलीलाई नेपाल, गौतम र प्रकाशले साथ दिए भने बहुमत हुन्छ । प्रचण्डलाई नेपाल या थापा नबोकी अध्यक्ष ओलीसँग रस्साकस्सी गर्न शक्ति नै पुग्दैन । अर्थात् प्रचण्ड भन्दा बलशाली देखिँदै छन् बादल पार्टीभित्र ।
प्रदेश नेतृत्व यसरी टुंग्याएपछि वरिष्ठ नेता नेपाल अहिले निकै असन्तुष्ट बनेका छन् । सचिवालयको वरियतामा आफूलाई निकै तल झारिएपछि यसअघिसम्म आक्रोसित हुँदै आएका अर्का वरिष्ठ नेता झलनाथ खनाल भने प्रदेश नेतृत्वप्रति मौन छन् । प्रदेश नेतृत्वमा खनाल पक्षका कोही पनि परेनन् । यसबारे प्रतिक्रिया लिन खोज्नेहरुलाई उनले आफ्नो कुनै गुट नभएको बताउन थालेका छन् । प्रदेश नेतृत्वमा आफ्ना कोही नपरेपछि उनले त्यसो भन्न थालेको स्रोत बताउँछ ।
तर वरिष्ठ नेता नेपालले प्रदेश नेतृत्वको बिषयलाई लिएर निकै आक्रोसित हुन थालेका छन् । वरिष्ठ नेता नेपालले त्यही बिषयमा स्थायी कमिटी सदस्यहरुसँग छलफल गर्न शुक्रबार चियापान आयोजना गरेका थिए । नेपालको चियापानमा यसअघि विघटित एमालेमा सशक्त मानिएका बामदेब गौतम, भीम रावल र सुवास नेम्वाङ सहभागी भए । रावल र नेम्वाङले चिया मात्र पिए, तर नेता गौतमले भने नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै मन्तव्य नै दिए । चियापानमा योगेश भट्टराई सहभागी हुनु स्वभाविक नै हो । भेलामा उर्जामन्त्री वर्षमान पुन र श्रम मन्त्री गोकर्ण बिष्ट पनि सहभागी भए । अध्यक्ष ओलीको मुख्य सल्लाहकारको रुपमा चिनिएका नेम्बाङ र प्रचण्डको दाहिने हात मानिने पुनको उपस्थितिले नेता नेपाल हौसिनु स्वाभाविक नै हो । त्यसबाट ओली र प्रचण्ड समेत झस्किएका छन् ।
नेता नेपालले प्रदेश नेतृत्व चयनप्रति संसदमा समेत आक्रोस व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीले नेता नेपालको त्यो अभिव्यक्तिको त्यहीबाट जवाफ दिएका छन् । आफू स्वदेशमा नभएका बेला नेता नेपालले बोलाएको स्थायी कमिटीको भेलाबारे चित्त दुखाउँदै प्रधानमन्त्री ओलीले प्रदेश नेतृत्व चयन निर्णयको बचाउ गरेका छन् ।
केही मान्छेहरुमा अलिकति कुण्ठा देखिन्छ, त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरु गरेका छन्’ न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओलीले भनेका छन्– ‘एउटा कृत्रिम परिस्थिति निर्माण गर्न खोजिएको छ, जसको खासै अर्थ केही पनि छैन ।‘. सचिवालयको निर्णय विल्कुल ठीक छ ।’
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच चलेको यस्तो वाकयुद्धले पार्टीमा झन् विवाद बढ्न सक्ने स्थिति देखिएको छ । ओली–नेपालबीचको आपसी हुङ्कारले प्रदेशको अहिलेको नेतृत्वमा केही केरकार गरी हेरफेर हुने सम्भावना बढेको छ ।