नेपालको विकासमा सघाउन दाताहरुलाई ओलीको अपिल

राष्ट्रसंघको महासभामा के भने ओलीले ?

काठमाडौँ । संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिने क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री केपी ओली र त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच छोटो भेटवार्ता भएको थियो । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा ट्रम्प र ओलीबीच उभिएरै दुई मिनेट कुराकानी भएको थियो ।
स्वागत समारोहमा सहभागी सबैसँग संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने क्रममा ओली दम्पति र ट्रम्प दम्पतिको फोटो शेसन र भेटवार्ता भएको हो । ट्रम्पसँगको भेटमा ओलीले नेपालको दिगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको ओलीको सचिवालयले जनाएको छ । ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसा गर्दै ओलीले सिंगापुरमा भएको अमेरिका र उत्तर कोरियावीचको वार्ताले विश्व शान्तिका लागि सकारात्मक सन्देश गएको बताएका थिए ।
यसैवीच प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रम्प, बेलायतकी प्रधानमन्त्री टेरेजा मे, स्विट्जरल्यान्डका राष्ट्रपति एलियन बेरसेट बाहेक अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेट गर्दै दुईपक्षीय सहकार्य र उच्चस्तरको भ्रमण आदान प्रदानबारे कुरा गरेको जनाइएको छ ।
बेलायतकी प्रधानमन्त्री टेरेजा मे, स्विट्जरल्यान्डका राष्ट्रपति एलियन बेरसेटसँग भएको छुट्टाछुट्टै भेटवार्तामा ओलीले दुवै दातृ मुलुकका सरकार तथा राष्ट्रप्रमुखसँग विकास र समृद्धिको बाटामा अग्रसर नेपाललाई सहयोग गर्न अपिल गरेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा पर्यटन र लगानी प्रवद्र्धनका सन्दर्भमा सहकार्यको प्रस्ताव राखेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छर ।
त्यस्तै ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजवीच पनि भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–भारत द्विपक्षीय हितका सम्बन्धमा छलफल भएको बताइएको छ ।
त्यस्तै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा नेपाल तथा राष्ट्र संघबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा जनाएको छ । भेटका अवसरमा शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि छलफल भएको विज्ञप्तिमा जनाइएको छ ।
महासचिव गुटेरेसले शान्तिपूर्ण सङ्क्रमणमा नेपालमा सशक्त प्रजातन्त्र स्थापना हुनु उदाहरणीय भएको बताउँदै नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता दोहो¥याएको बताइएको छ । प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्र सङ्घको सहयोगप्रति कृतज्ञता प्रकट गरेको पनि बताइएको छ ।

राष्ट्रसंघको महासभामा के भने ओलीले ?
न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमण विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए ।
संयुक्त राष्ट्र सङ्घको ७३औं महासभामा सम्वोधन गर्दै प्रधानमन्त्री ओेलीले नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्न सक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताए ।
उनले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृष्टिकोण अगाडि बढाएको जानकारी दिए ।


प्रधानमन्त्री ओलीले नेपाल ऐतिहासिक राजनीतिक सङ्क्रमणमा रहेको उल्लेख गर्दै वार्ता तथा छलफलका माध्यमबाट नेपालीले मुलुकमै बनेको, नेतृत्व दिइएको आफ्नै शान्ति प्रक्रियामा मौलिक रुपमा सफलता हासिल गरेको उल्लेख गरे । उनले नेपाली राजनीतिक परिवर्तन सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान भएको र यसले राज्यको पुनः संरचनामार्फत विविधतामा एकता प्रवद्र्धन गर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको संविधान सङ्घीय गणतन्त्रको संरचनामा प्रजातान्त्रिक राजनीति बलियो बनाउने कुरा मात्र नभई यसले जनतालाई विस्तृत अधिकार र स्वतन्त्रता दिएको बताए । उनले शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व यस संविधानको प्रमुख विशेषता भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको र गत वर्ष सङ्घीय, प्रान्तीय तथा स्थानीयस्तरको स्वतन्त्र, निष्पक्ष निर्वाचनबाट सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण भएको बताए । उनले यस निर्वाचनबाट ४१ प्रतिशत महिला विभिन्न निकायमा आएको बताउँदै बाँकी नौ प्रतिशत रिक्त स्थान पनि पूर्ति गरिने बचनबद्धता प्रकट गरे ।


प्रधानमन्त्री ओलीले निर्वाचनले बलियो सरकार दिएको, आफूले नेतृत्व गरेको सरकारसँग संसदमा तीन चौथाई समर्थन प्राप्त भएको र प्रान्तका सरकारहरुले पनि बलियो बहुमतको समर्थन प्राप्त गरेको उल्लेख गरे । उनले नेपाली शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घ तथा अन्तर्राष्ट्रिय समुदायले दिएको सहयोगका लागि कृतज्ञता प्रकट गरे ।
प्रधानमन्त्री ओलीले नेपालको विदेश नीतिले सबैसँग मैत्री भावना कायम राख्ने र कसैसँग शत्रुता नराख्ने बताए । साथै उनले क्षेत्रीय सहयोगको प्राथमिकता अनुसार नेपालले हालै बिमस्टेकको चौँथो शिखर बैठक आयोजना गरेको र सार्कलाई महत्वपूर्ण क्षेत्रीय सङ्गठनको रुपमा पुनः सबल भएको देख्न चाहेको बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान विश्व विनाश तथा बचनबद्धताको मौलिक विरोधाभाषसँगै महत्वपूर्ण सङ्घारमा उभिएको र गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, बलपूर्वक विस्थापन तथा प्राकृतिक प्रकोपदेखि हतियारको प्रतिस्पर्धासम्मका चुनौतीहरु विश्वसमुदायले भोगिरहेको उल्लेख गरे । उनले सभाध्यक्षले यसै साता सभालाई सम्बोधन गर्दा रेखाङ्कित गरेको सातवटा प्राथमिकताका क्षेत्रलाई नेपालले समर्थन गर्ने बताए ।
आरम्भमा प्रधानमन्त्री ओलीले दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको शताब्दीयौँ जन्मदिवसका अवसरमा उनी र उनले सङ्घर्ष गरेको स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए । महाधिवेशनको यस सत्रको सफलताका लागि बुद्ध र सगरमाथाको भूमिबाट शुभकामना ल्याएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
राससको सहयोगमा