बगनासका तीन सय विद्यार्थीलाई शैक्षिक सामग्री
पाल्पा / बगनासकाली गाउँपालिकाका तीन सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिका भित्रका गरिब, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । हेल्प नेपाल काठमाडौंले पाँच विद्यालयका तीन सय विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै सरसरफाई सामाग्रीहरु वितरण गरेको छ । सामाजिक कार्यमा सक्रिय हुँदै आएको हेल्प नेपालले नेपाली काँग्रेसका युवा, प्रभावशाली नेता तथा प्रतिनिधि सभाका सदस्य गगन कुमार थापाबाट कालिका आधारभूत विद्यालयमा एक कार्यक्रम गरी सामग्री वितरणको उद्घाटन गरेका थिए ।
कालिका आधारभूत विद्यालयबाट सुरु गरेको सामाग्री वितरण कार्यक्रममा गाउँपालिका भित्रका खानीगाउँ आधारभूत विद्यालय, जनप्रिय प्रावि, भगवती आधारभूत विद्यालय, तानसेन नगरपालिकाको देववाणी साधारण तथा संस्कृत विद्यालयका विद्यार्थीहरुलाई एक÷एक सेट झोलासहित १६ सय बराबरका शैक्षिक र सरसफाई सामाग्रीहरु वितरण गरिएको हेल्प नेपालका डाइरेक्टर ंजिमी लामाले बताए ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीले महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले विद्यार्थीहरुप्रति संस्थाले देखाएको सद्भावको प्रशंसा समेत गरे । गाउँपालिका भित्र आर्थिक अभावका कारण अझै पनि केही समुदायका विद्यार्थीहरुले विद्यालय शिक्षा भन्दा बाहिर बस्नु पर्ने बाध्यता रहेकाले ती समुदायका विद्यार्थीहरुलाई विद्यालय शिक्षामा समाहित गर्न शैक्षिक सामाग्रीहरु वितरणले प्रोत्साहन गर्ने कार्यक्रम संयोजक सुनिता अधिकारीले बताइन् ।
गरिब, दलित, पिछडिएका विद्यार्थीहरुका हितमा थुप्रै संघ संस्थाले काम गर्देै आए पनि अहिलेसम्म गाउँपालिकामा यस्ता किसिमका कार्यक्रमहरु आउन नसकेको स्थानीय इन्द्रा भट्टराईको भनाइ छ । उनले भनिन् ‘यस क्षेत्रमा हेल्प नेपालले गरेको कामको अन्य संघ सस्थाहरुले पनि अनुशरण गर्नु पर्ने छ ।’