सार्कको वैठकमा किन सन्किइन् सुष्मा ?
काठमाडौं÷ दुई वर्षको अन्तरालमा हुनुपर्ने सार्क शिखर सम्मेलन पछिल्लो पटक निर्धारित समयमा हुन सकेको छैन । ०७३ सालमा हुनुपर्ने १९औँ सार्क सम्मेलन भारतका कारण रोकिएको हो । १८औं सार्क सम्मेलन २०७१ साल मंसिर १० र ११ गते काठमाडौमा भएको थियो । १८औ सम्मेलनले ३६ बुँदे काठमाडौ घोषणा पत्र जारी गर्दै १९औ सम्मेलन पाकिस्तानमा गर्ने निर्णय गरेको थियो ।
सार्क सम्मेलनका लागि पाकिस्तानले आवश्यक तयारी गरिरहेको थियो तर भारतसँग बढ्दै गएको खिचातानीका कारण पाकिस्तानले अन्तिम समयमा आएर सार्क सम्मेलन स्थगित गरिएको जनायो । पाकिस्तानले भारतका कारण सार्कसम्मेलन स्थगित गर्नुपरेको उल्लेख गरेको थियो । सार्कमा भारत, पाकिस्तान, नेपाल, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्स र म्यानमार सदस्य छन् ।
काठमाडौ सम्मेलनमा पाकिस्तानले सार्कमा चीनलाई पनि सदस्य बनाउनुपर्ने प्रस्ताव गरेको थियो । पाकिस्तानको प्रस्तावप्रति भारत बाहेक अन्य मुलुककले समर्थन जनाए तर भारतले भने तत्काल त्यसप्रति कुनै प्रतिक्रिया जनाएन मौन बस्यो । चीनलाई सार्कमा समेट्ने प्रयासमा भारत देखावटी रुपमा मौन बसे जस्तो गरे पनि भित्रि रुपमा भने त्यसको विपक्षमाछ । सार्क सम्मेलन पछिल्लो समय त्यही कारणले रोकिएको स्रोत बताउँछ । सार्क अलपत्र पर्न थालेपछि पछिल्लो समय भारत बाहेक अन्य राष्ट्रले सम्मेलन गर्नुपर्नेमा जोड दिएका छन् । १९औं सम्मेलन गराउन नेपालले निकै जोडबल गर्दै आएको छ ।
न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भेला भएका सार्कका परराष्ट्रमन्त्रीहरुको भेलामा समेत सार्क सम्मेलनको प्रसंग उठेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा भएको वैठकमा सार्कका ८ वटै मुलुकका परराष्ट्रमन्त्रीहरु सहभागी थिए । भेलामा विभिन्न मुलुकका परराष्ट्रमन्त्रीले सार्क सम्मेलन तत्कालै हुनुपर्ने धारणा राखे तर भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराज सार्क सम्मेलनको प्रसंग उठ्नासाथ जुरुक्क उठिन् र बैठकबाट बाहिरिइन् । भेलामा सार्क सम्मलनको कुरा निस्कँदा परराष्ट्रमन्त्री स्वराज एक्कासी किन सन्किइन् ? अहिले सर्वत्र चासोको बिषय बनेको छ ।