सुपथ मूल्य पसल खुल्यो, अनुगमन भने फितलो

काठमाडौं । विगतमा झैं यस वर्ष पनि दशैं–तिहार लगायत चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । सुपथ मूल्य पसल वाणिज्य, तथा आपूर्ति मन्त्रालयको निर्देशनमा आपूर्ति तथा बाणिज्य विभाग अन्तरगत संचालन गरिएको हो । मुलुकको ४७ स्थानमा सुपथ मूल्य पसल खोलिएको विभागले जनाएको छ ।
विभागका अनुसार नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान र विभागमा दर्ता भएका सहकारीले आफ्नै तरिकाले त्यस्ता सुपथ मूल्य पसल सञ्चालन गरेका छन् ।
कतिपय स्थानमा भने विभागको नेतृत्वमा खाद्य, साल्ट ट्रेडिङ, र दुग्ध विकास संस्थानको संयुक्त पसल सञ्चालन गरिएको छ । यसरी सञ्चालन भएका सुपथ मूल्य पसलले विद्यमान मूल्यमा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् ।
सुपथ मुल्य पसलमा प्रति केजी मोटा चामलमा ५ रुपैयाँ, चिनीमा प्रति केजी २ रुपैयाँ, नुन ५ रुपैयाँ, खसी, वोका र च्याङग्रामा १० रुपैयाँ, डिडिसी घ्यूमा ५० रुपैयाँ र पनिर केजीमा १० रुपैयाँ छुट दिएर सामान बिक्री हुनेछ ।
यस्तै पाँच लिटरको प्याकेटको खानेतेलमा १ सय ५० रुपैयाँसम्म छुट हुनेछ । मन्त्रालयका अनुसार सुपथ मूल्य पसल कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछ ।
मन्त्रालयले बाणिज्य बिभाग र उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधि सम्मिलित अनुगमन समिति समेत बनाएको छ । सुपथ मूल्य पसलको दर भाउ विभागले तोके अनुसार भए, नभए बारे अनुगमन गर्ने जिम्मा समितिलाई दिइएको छ । समितिलाई त्यसको अलवा बजारको अन्य पसलको दर भाउ समेत अनुमगन गर्र्न अधिकार दिइएको छ ।
घटस्थापना आउन अब १० दिन बाँकी छ । काठमाडौंमा भने दशैंका लागि किनमेलको चहलपहल शुरु भइसकेको छ । दशैंका लागि सामान किनबेचसँगै व्यवसायीहरुले हरेक सामानमा भाउ बढाएका छन् । अति आवश्यक वस्तुको मूल्य झन् चर्को रुपमा बढेको छ । तर त्यसप्रति अनुगमन समितिको ध्यान पुग्न सकेको छैन । यस हिसाबले अनुगमन फितलो देखिएको छ ।