पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ- कोइराला
काठमाडौँ- दशैँ, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानको कार्यान्वयन, सङ्घीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततःकाङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
काङ्ग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रीत गर्ने सुझाव आएको जानकारी दिँदै उहाँले यो गलत हो भन्नुभयो ।
“पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ” ।
कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताउनुभएको छ ।
जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिनुभयो ।प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष तथा राससका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली धर्म, संस्कृतिलाई महत्व दिने विषयमा कहि कतैबाट पनि कञ्जुस्याइँ गर्न नहुने टिप्पणी गर्नुभयो ।
समाजका अध्यक्ष कृष्णविलास अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुड, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, काङ्ग्रेस क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेका टोखा नगरपालिका सभापति वसन्त श्रेष्ठ, हरिहर अधिकारी र रजनी थापालगायतले सो अवसरमा समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
सांसद भीमसेनदास प्रधानले काङ्गे्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनता समक्ष पु¥याएर अहिलेको अन्यौलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताउनुभयो ।