पाकिस्तानले आइएनजीओलाई ६०दिनभित्र देश छाड्न दियो निर्देशन

पाकिस्तान -पाकिस्तानी सरकारले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू आइएनजीओलाई ६० दिनभित्र देश छाड्न निर्देशन दिएको छ।

आइएनजीओहरूलाई सबै काम बन्द गर्नसमेत पाकिस्तान सरकारले भनेको छ।

आइएनजिओहरूलाई देश छाड्न निर्देशन दिएसँगै पाकिस्तानी सरकारको आलोचना सुरु भएको छ। यस निर्णयबाट प्रभावित आइएनजिओ ‘एक्सन एड’ले यो नागरिक समाजमाथि भइरहेको आक्रमणको एक हिस्सा भएको आरोप लगाएको छ।

पाकिस्तानी गृह मन्त्रालयले उक्त आरोपको अहिलेसम्म कुनै खण्डन गरेको छैन। सरकारले एक्सन एडलाई लेखेको चिठ्ठीमा पुनः संस्था सञ्चालन गर्न ६ महिनापछि आवेदन दिन सक्ने उल्लेख गरिएको छ।

मानवअधिकार उल्लंघन तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लागेको घटना बढिरहँदा पाकिस्तानले आइएनजीओहरूलाई देश छाड्न निर्देशन दिएको हो।