इन्टरपोलका अध्यक्ष नै सम्पर्कविहीन
काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) का अध्यक्ष मेंग होंगवेइ सम्पर्कविहीन भएपछि अनेकन् शंकाउपशंकाहरु बढेका छन् । इन्टरपोलको मुख्यालय फ्रान्सको लियान शहरमा छ । फ्रान्स सरकारले उनी सम्पर्कविहीन भएपछि अनुसन्धान सुरु गरेको बताइएको छ ।
९५ वर्षको इतिहासमा इन्टरपोलको अध्यक्ष बन्ने मेंग पहिलो चिनियाँ नागरिक हुन् । स्थानीय मिडियाका अनुसार वेपत्ता हुनुअघि उनी चीनका लागि प्रस्थान गरेका थिए । उनले २९ सेप्टेम्बरमा फ्रान्स छाडेका थिए । मेंगकी पत्नीका अनुसार उनको कुराकानी सेप्टेम्बरको अन्तिम साता भएको थियो । त्यसपछि मेंगको अत्तोपत्तो छैन ।
सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए । गुप्तचर प्रहरीको कामकाज हेर्ने उनको जिम्मेवारी थियो ।