दसैं र तिहारका लागि आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं- आजदेखि दसैं र तिहारका लागि राष्ट्र बैंकले नयाँ नोट साटिदिने व्यवस्था गरेको छ।

एक जनाले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले प्रत्येक वर्ष दसैँको अवसरमा सर्वसाधारणको लागि नयाँ नोट सटही सेवा प्रदान गर्दै आएको छ।

राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका नोट सटही गर्ने व्यवस्था मिलाएको छ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ असोजदेखि नै नयाँ नोट वितरण गरिसकेको छ। बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि आइतबारदेखि मात्र वितरण सुरु गर्दैछन्।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। त्यस बाहेक नोट कोष सुविधा लिएका वित्तिय संस्थाले पनि नयाँ नोट सटही गर्नेछन्। नोट सटही सुविधा २९ असोजसम्म हुने छ।

काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ।

राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ।