दुवै पर्यटकीय क्षेत्रलाई जोड्ने गरी पर्यटक बस सञ्चालन हुने

पाल्पा÷ पाल्पा र पोखरा दुवै पर्यटकीय क्षेत्रलाई एक आपसमा जोड्ने गरी पर्यटक बस सेवा शुरु हुने भएको छ । तानसेन नगरपालिका र संजोक ट्राभल बीच दुवै पर्यटकीय शहरलाई जोड्ने गरी पर्यटकीय बस सेवा सञ्चालन गर्ने विषय सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही र संजोक ट्राभल पोखराका व्यवस्थापक वसन्त सापकोटाले सहमतिपत्रमा हस्ताक्षर गर्दै आगामी असोज २५ गते पाल्पा पोखरा सिधा बस सञ्चालन गर्ने जनाएका छन् । तानसेन र पोखराबाट पर्यटकीय बस विहान ८ बजे छुट्ने छ भने १ सय २५ किलोमिटर क्षेत्रको भाडादर ६ सय रुपैयाँ कायम गरिएको छ । पर्यटकीय बसमा दक्ष चालक र परिचालकको व्यवस्था गरिएको र यात्रुहरुले एसी, पानी तथा बदामको सुविधा पाउने छन् । दुवै स्थानबाट छुटेका पर्यटक बसहरु दिशा पिसावका लागि मात्र रोकिने र छुटेको ५ घण्टा भित्र गन्तव्य स्थानमा पु¥याउने संजोक ट्राभलका व्यबस्थापक सापकोटाले बताए । विगतमा पनि विभिन्न यातायात व्यवसाय समितिले स्तरीय बस सञ्चालन गरेपनि निरन्तर सेवा दिन नसक्दा बन्द भएका थिए । तानसेन पोखरा सिधा बस सेवा नहुँदा यात्रुहरु सिद्धार्थ राजमार्गको वर्तुङ्ग पुगी बुटवलबाट आउने बसमा यात्रा गर्दै आएका छन् । पर्यटकीय बस सेवा सञ्चालनको पाल्पाली समाज पोखराले समन्वयकारी भूमिका खेलेको छ ।