नेकपाको विवादले सरकार अप्ठ्यारोमा
ओली–नेपालको लडाइमा खेल्दै प्रचण्ड
काठमाडौं । सत्तारुढ दलभित्रको ध्रुवीकरण, गुटबन्दी र घातप्रतिघातले आन्तरिक रुपमा पार्टी मात्र होइन सरकार नै कमजोर हुने संकेत देखिएको छ । प्रतिपक्षी दलले भन्दा चर्को रुपमा सरकारको आलोचना गरेका नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी समिति सदस्यहरुको भेला गरेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध घेराबन्दी शुरु मात्र गरेका छैनन् पार्टी अध्यक्ष ओली नसच्चिएमा देशव्यापी रुपमा जागरण अभियान चलाएर नयाँ ढंगले काम गर्ने चेतावनी पनि दिएका छन् । उनले यस्तो चेतावनी दिएपछि नेकपाभित्रको झगडाले ठुलै रुप लिने देखिएको छ । गिरिजाप्रसाद कोइरालासँग रुष्ट भएपछि कांग्रेसका तत्कालीन नेता गणेशमान सिंहले पनि जनजागरण अभियान चलाएका थिए । पार्टी फरक भएपनि नेताहरुको शैली र पीडा उस्तैउस्तै देखिएको छ ।
नेता नेपालको अभिव्यक्ति र गुटको भेलालाई ओली गुटले खासै महत्व दिएको देखिदैन । वरिष्ठ नेता नेपालले सरकारले स्पष्ट काम देखाउन नसकेको र देश डुब्न लागेको जस्तो गम्भीर आरोप लगाउँदा पनि प्रम ओलीले त्यसलाई ठट्टामजाकमा उडाएका छन् । प्रधानमन्त्री ओलीले वितेका सात महिनामा मात्रै नेपाल गरीब भएको हो भन्ने प्रश्न गर्नुका साथै सात महिनामा मात्रै बाटाघाटा बिग्रेका हुन् र भन्ने जवाफ दिएका छन् ।
प्रतिपक्षीहरुले गर्नुपर्ने काम सत्तारुढ दलकै नेताहरुले गरेको भन्दै रक्षामन्त्री समेत रहेका नेता ईश्वर पोखरेलले सार्वजनिक रुपमै अभिव्यक्ति दिएर माधव नेपाललाई व्यंग्य गरेका छन् भने महासचिव विष्णु पौडेलले नेता नेपालले पुरानो गीत गाउनु भयो भनेका छन् । पूर्वप्रम तथा पार्टीका पूर्व अध्यक्ष झलनाथ खनालले समेत माधव नेपालको भनाइ असान्दर्भिक भएको तर्क गरेका छन् । वरिष्ठ नेताले नै पार्टी नीतिविरुद्ध बोल्दै हिड्नु गलत भएको खनालको टिप्पणी छ ।
पार्टी भित्रको गुटबन्दीले सरकार धरापमा परेको विश्लेषण भइरहेका बेला एयरपोर्टमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने उद्घोष गरे । पार्टीभित्रैबाट उनको आलोचना भइरहेका बेला प्रतिपक्षीले झन् चर्को विरोध गर्नु स्वभाविक हो । पाँच वर्ष सत्ता चलाउन ओलीले बोली मात्र होइन, रचनात्मक काम गर्नैपर्ने हुन्छ ।
अहिलेको अवस्था हेर्दा प्रतिपक्ष सुस्त देखिएपनि पार्टीभित्रकै अन्तरकलह, अविश्वास र खिचातानीले एकातिर पार्टीलाई कमजोर बनाइरहेको छ भने जनताका धेरै अपेक्षा मध्ये थोरै मात्र पनि पूरा नभएको भन्दै बढेको असन्तुष्टिले सरकारलाई अप्ठ्यारोमा पार्न सक्ने सम्भावना देखिएको छ ।
माधव नेपाल, झलनाथ खनाल, रघुजी पन्त, भीम रावल, विरोध खतिवडालगायत नेताहरुले प्रधानमन्त्रीको आलोचना गरिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल समेत ओलीसँग भित्रभित्रै रुष्ट भएको खबरले माओवादी पृष्ठभूमिका अन्य नेताहरु पनि ओलीप्रति नकारात्मक हुन थालेको देखिन्छ ।
प्रदेशको नेतृत्वको निर्णय गर्ने कुरामा गल्ती भएको स्वीकार गर्दै दाहालले नियोजित नै नभएपनि हतारमा गर्नुपर्दा भुल भएको बताएका छन् भने उनले माधव नेपालले संसदमै गएर पार्टीको नेतृत्वविरुद्ध बोल्न नहुने थियो भनेका छन् ।
एकातिर माधव नेपालसँग दाहालले निकटता देखाएको देखिन्छ भने अर्कातिर ओलीलाई प्रशन्न बनाउन माधव नेपालको आलोचना गर्दै दाहालले एउटै तिरले दुई वटा शिकार गर्न खोजेका छन् ।
प्रदेश कमिटीहरु सक्रिय भएपनि असन्तुष्टि व्याप्त भएको विभिन्न नेताहरुले आत्मसात् गरेका छन् भने तराईमा कसरी पार्टीलाई बलियो बनाउने भन्ने चिन्ता भएको दाहालको टिप्पणी छ । दशै अघि नै जिल्ला र प्रदेश कमिटीको एकीकरण भइसक्ने बताइएपनि केन्द्रमा देखिएको तनावले एकीकरण प्रक्रियालाई ठोस र तार्किक निष्कर्षमा पुर्याउन केही समय लाग्ने अवस्था देखिएको छ ।
२०७४ असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिबीच गठवन्धन भएको थियो । तर असोज २८ गते गठवन्धनबाट नयाँशक्ति बाहिरिएको थियो भने २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकीकरण भएको थियो । पार्टी एकीकरण भएपनि प्रदेशदेखि तल्लो तहसम्म एकीकरणको प्रक्रिया अल्मलिएको देखिन्छ भने एमाले तथा माओवादी पृष्ठभूमिका नेताहरुबीचमै मतभिन्नता भइरहेका कारण पूर्णरुपमा एकीकरण भइसकेपछि पनि आन्तरिक रुपमा पार्टी भित्र मनोवैज्ञानिक विभाजन यथावत रहने अवस्था देखिन्छ ।
नेता नेपालले चियापानको वहानामा बोलाएको स्थायी समिति सदस्यको भेलामा वामदेव गौतम, योगेश भट्टराई, नारायणकाजी श्रेष्ठ, गोकर्ण विष्ट, गंगालाल तुलाधर, राजेन्द्रप्रसाद पाण्डे, विरोध खतिवडा, डा. विजय पौडेल, ठाकुर गैरे, मेटमणि चौधरी, जयन्ती राई, ममता गिरी, सीता गिरी, गरिमा शाह, वर्षमान पुन, निरज आचार्य, रघुवीर महासेठ, सुवास नेम्वाङलगायतका नेता सहभागी थिए । चियापानमा जाने सबै नेता केपी ओलीका विरोधी थिएनन् । तर माधव नेपालले ओलीका विरुद्ध मोर्चाबन्दी गर्न खोजेको सन्देश प्रवाह भएपछि अध्यक्ष ओली निकै क्रुद्ध भएका छन् ।
उनले स्वदेश फर्किएपछि आफ्नो अनुपस्थितिमा पार्टीभित्रका गतिविधि बारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् भने सचिवालयको वैठक आज बस्दैछ । वैठकमा अध्यक्ष ओलीले उनले आफ्ना कमीकमजोरी सच्याउँछन् वा आलोचकहरुलाई कारवाही गर्छन् भन्ने गम्भीर प्रश्न उठेको छ ।
कडा स्वभावका ओलीले आफ्नो कमीकमजोरीको समीक्षा नगरि विरोधीहरुलाई मात्र पेल्ने रणनीति बनाए भने त्यसले नेकपाभित्र अरु ध्रुविकरण बढ्न सक्ने देखिन्छ । नेकपाभित्रको चरम असन्तुष्टि आगामी दुई वर्षमा हुने महाधिवेशन लक्षित देखिएको छ । नेताहरुवीच नेतृत्वका लागि शक्ति संघर्ष चर्किएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।