‘हिन्दु राष्ट्रका बारेमा पार्टीको स्पष्ट धारणा हुनुपर्छ : महामन्त्री कोइराला
काठमाडमौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आउँदो महाधिवेशनमा देउवालाई हटाएरै छोड्ने उद्घोष गरेका छन् । तीन तहको चुनावमा पार्टी नराम्रोसँग परास्त हुनुको मुख्य दोषी सभापति शेरबहादुर देउवा नै भएको आरोप लगाउँदै महामन्त्री कोइरालालले पार्टीलाई बलियो बनाउन नेतृत्व परिर्वतन आवश्यक रहेकोमा जोड दिएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश नं. १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार बिराटनगरमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले भने, ‘सभापति देउबालाई आगामी अधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन गर्न भनेका छौं । तर, उहाँले मान्नु भएको छैन । पार्टीलाई बलियो बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तन आवश्यक छ ।’
महामन्त्री कोइरालाले अबको नेतृत्व सबैलाई साथमा लिएर हिड्न सक्ने, पार्टी भित्रको अन्तर बिरोध र गुटगत राजनीति भन्दा माथि उठाउन सक्ने आवश्यकता रहेको बताए । केही समय अघि उनले विराटनगरमै पत्रकारहरुसँग कुरा गर्दै अबको पार्टी नेतृत्व कोइराला परिवारबाटै हुने उद्घोष गरेका थिए । उनले आफु, शेखर वा सुजाता मध्ये एकजना सभापति बन्ने बताएका थिए ।
पछिल्ला दिनहरुमा पार्टी सभापति र सरकारप्रति आक्रामक बन्दै गएका महामन्त्री कोइराला वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती गर्न खोजेको भन्दै त्यसको बिरुद्धमा कांग्रेस उभिने जानकारी दिएका छन् ।
महाधिवेशन अघि वर्तमान सभापति शेरबहादुर देउवाले जस्तै महामन्त्री कोइरालाले पनि हिन्दु राष्ट्रको विषयलाई मुख्य एजेन्डा बनाउन खोजेको देखिएको छ । सभापति देउवाले पनि आफूले सभापति जिते हिन्दु राष्ट्र बनाएरै छोड्ने उद्घोष गरेका थिए ।
कोइरालाले हिन्दु राष्ट्रका बारेमा पार्टीले स्पष्ट धारणा लिएर अघि बढ्नुपर्ने उल्लेख गर्दै त्यसलाई मुख्य एजेन्डा बनाउन खोजेको देखिन्छ । कतिपय अवस्थामा रणनीतिक अस्त्रका रुपमा हिन्दु राष्ट्रको नारा उठाएपनि नेपाली कांग्रेसका कुनै पनि नेताले तत्सम्वन्धमा पार्टीमा प्रस्ताव दर्ता गराएका छैनन् ।
खुमबहादुर खड्काले पटकपटक उठाएको नेपाललाई हिन्दु राष्ट्र नै घोषणा गर्नुपर्ने प्रस्ताव शशांक कोइरालाले स्पष्ट रुपमा लिएर अघि बढे भने उनलाई देशका विभिन्न भागमा रहेका सनातन धर्मावलम्वीहरुले समेत समर्थन गर्न सक्ने सम्भावना रहेको एक नेताले बताएका छन् ।
हिन्दु राष्ट्रको प्रशंगमा शेखर कोइराला र सुजाता कोइराला मौन देखिएको अवस्थामा शशांकले बिहीबार काठमाडौंको रत्नराज्य क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापकहरुलाई सम्वोधन गर्दै हिन्दु राष्ट्रका विषयमा आफू स्पष्ट रहेको र त्यसलाई जनमतसंग्रह मार्फत अगाडि बढाउन सकिने तर्क गरेका छन् । यसले पार्टीको आगामी वैठकमा विवाद सिर्जना गर्ने देखिन्छ । सोमवार बस्ने पार्टीको वैठकमा उठ्न सक्ने विभिन्न प्रश्न मध्ये हिन्दुराष्ट्र सम्वन्धी प्रस्ताव पनि वहसको विषय हुने सम्भावना रहेको कोइरालानिकट एक नेताले बताएका छन् ।