नेपालको चौंथो जीत, भुटान १ सय १७ रनले पराजित
काठमाडौँ- आइसीसी टी–२० विश्वकपका लागि एशिया बी अन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेलमा नेपाल विजयी भएको छ ।
भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले जित हात पारेको हो ।
भुटानलार्इ सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट तथा बसन्त रेग्मीले २ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १/१ विकेट लिए । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमै सबै विकेट गुमाएर ३३ रनमै अलआउट भयो ।
भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले सबैभन्दा बढी ११ रन बनाउनस वाहेक कसैले दाहोरो अंक जोड्न सकेनन् ।
पहिलो बलमै ओपनर बिनोद भण्डारीलाई गुमाएको नेपालले त्यसयता सशक्त प्रदर्शन गरेको थियो । नेपालका लागि अर्का ओपनर प्रदीप ऐरीले ७५ रनको शानदार अविजित पारी खेले । उनले ६८ बलमा २ छक्का र ६ चौका पहार गरे । प्रदीपले दोस्रो विकेटका लागि अनिलकुमार साहसँग मिलेर ६६ रनको साझेदारी गरे ।
अनिल १२औं ओभरमा व्यक्तिगत २७ रनमा आउट भएपछि आएका आरिफ शेखसँग उनले ३३ रनको साझेदारी गरे । आरिफले १३ रन बनाए भने उनी आउट भएपछि आएका दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए । ५ बलमा ११ रन जोडेका करण केसी नटआउट रहे ।