मुआब्जा वितरण

दमौली-एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।

आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाले जानकारी गरायो । प्रभावित ६२ परिवारमध्ये १२ परिवारले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ ।

विद्युत्गृह जाने प्रवेशमार्ग तथा अन्य आवश्यक पर्ने जग्गा आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर मूल्य निर्धारण गरिएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहण गर्न प्रतिरोपनी रु नौ लाखदेखि रु २० लाखसम्म मूल्य निर्धारण गरिएको छ । पहिरोमा परेको जग्गाका लागि प्रतिरोपनी रु २ लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन, बाँधलगायतको पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा सम्झौता भएको छ ।

त्यस्तै आयोजनाको सुरुङ, विद्युत्गृह निर्माणलगायतको दोस्रो प्याकेजका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग रु ३ अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको छ । दुवै प्याकेजको निर्माण दुई महिनापछि शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ ।