तरकारिमा बिचौलियाको बिगबिगी,उपभोक्ता र किसान मारमा

लमही- उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन्। तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् ।

तरकारी बेच्न बजारभर डुलाउनुपर्ने सोही ठाउँ निवासी अञ्जना चौधरीले बताउनुभयो । तरकारी भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसान मारमा परेका छन् । यो याममा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्नेगरेका हुन् ।

अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो रु १० देखि १५, लौका प्रतिकिलो रु ५ देखि १०, बोडी प्रतिकिलो रु १५ देखि २०मा बेच्नु परेको लमही नगरपालिका–७ घुम्नाकी गौरी कुमालले बताउनुभयो ।

तरकारी व्यवसायी खुशीराम चौधरीले भन्नुभयोे, हाम्रो तरकारीले बजार मूल्य नपाउने भएकाले बिचौलियाले घरमै आएर न्यून मूल्यमा तरकारी लिएर महँगोमा बेच्ने गरेका छन् ।

तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उहाँको भनाइ थियो । लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा व्यवसायी चौधरीले जोड दिनुभयो ।

लमहीमा सामूहिक रुपमा पनि तरकारीखेती हुँदै आएको छ । त्यहाँका नागरिक तरकारी खेतीमै निर्भर छन् । सिँचाइको सहज सुविधा भएकाले पनि त्यहाँ राम्रो तरकारी उत्पादन हुनेगर्छ ।

यहाँ उत्पादित तरकारीलाई भण्डारण र बजारीकरण गर्न कानून बनाएर अघि बढ्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । लमही तरकारीका लागि पकेट क्षेत्र भएकाले कृषिबाटै लमही नगरपालिकालाई समृद्ध बनाउन सकिने हुँदा त्यसका लागि शीत भण्डार र बाहिरी जिल्लामा ढुवानीको व्यवस्था गर्न कानून बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।