फर्कियो नेपाली क्रिकेट टोली
काठमाडौँ- विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ ।
मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका थिए । शुक्रबार भएको छनोट चरणको अन्तिम खेल रद्व भएपछि रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो ।
उपाधिसँगै नेपाल विश्व टी–२० एशिया छनोट समूह ‘बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसँगै सिंगापुर उपविजेता र मलेशिया पनि शीर्ष तीनमा रहँदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।
त्रिभुवन विमानस्थलमा संक्षिप्त प्रतिकृया दिँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फेरी विश्वकप खेल्ने सपना रहेको बताएका छन् । “फेरी विश्वकप खेल्ने सपना छ, पहिलो चरण पार गरेका छाँै, अब दुई चरण बाँकी छ, त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै फेरि विश्वकपमा छनोट हुने छौँ”–कप्तान खड्काले भने ।
अर्को चरणको खेल अहिलेको जस्तो सजिलो नहुने बताउँदै कप्तान खड्काले त्यसका लागि अहिलेदेखिनै तयारी अघि बढाउनुपर्ने बताए । “अब बलिङ, फिल्डिङ र ब्याटिङमा विशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौ भने अगाडिको छनोट प्रतियोगिता निकै कठिन हुनेछ”– खड्काको भनाइ थियो ।
एसिया छनोटमा छ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाइसकेको छ । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।